मापसे परीक्षा दिन गएका सेवाग्राहीको प्रहरी कार्यालयमै मृत्यु
Published: (Updated: )
by .
विराटनगर । मादक पदार्थ सेवन (मापसे) परीक्षा दिनका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा गएका एक सेवाग्राहीको शुक्रबार मृत्यु भएको छ । विराटनगर महानगरपालिका ४ ईक्राहीका ४५ वर्षीय फणिन्द्र भनिने धु्रव खरेलको मृत्यु भएको हो । परिवारका अनुसार मापसे परीक्षा दिएर उनी प्रहरी नियन्त्रणमा रहेको आफ्नो सवारी चालक अनुमति पत्र (लाइसेन्स) र ब्लुबुक फिर्ता लैजाने योजनामा थिए । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाएको भन्दै प्रहरीले माघ २ गते उनको लाइसेन्स र ब्लुबुक नियन्त्रणमा लिएको थियो ।
प्रहरी नियन्त्रणमा रहेको आफ्नो सवारी चालक अनुमति पत्र (लाइसेन्स) र ब्लुबुक लिनका लागि पुगेका खरेल प्रहरी कार्यालय भित्रै बेहोस भएका थिए । प्रहरी कार्यालय भित्र रहेको प्रतिक्षालयमा बसिरहेका बेला एक्कासि बेहोस भएपछि उपचारका लागि खरेललाई कोसी अञ्चल अस्पताल विराटनगर पु¥याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।
श्रेष्ठले खरेलमा लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र मुटुको समस्या रहेको बताए । घरमा औषधि खान विर्सिएका कारण स्वास्थ्यमा समस्या आएर उनको मृत्यु भएको जानकारी परिवारका सदस्यले गराएको दावी प्रहरीको छ । ‘प्रहरी कार्यालयको प्रतिक्षालयमा बसिरहेको अवस्थामा असहज भएपछि खरेल त्यहीं रहेका अन्य व्यक्तिको सहयोगमा आराम गरिरहेका थिए,’ डीएसपी श्रेष्ठले भने, ‘अचानक बेहोस भएपछि भने उपचारका लागि अस्पताल लगिए पनि बचाउन भने सकिएन ।’
खरेलका आफन्त र स्थानीयले भने प्रहरीले लिने परीक्षा दिनका लागि प्रहरी कार्यालयमा पुगेपछि मृत्यु भएको बताउँदै आएका छन् । प्रहरीले भने घटनालाई ढाकछोप गर्ने प्रयास गर्दै परीक्षा दिनका लागि खरेल नआएको दावी गरिरहेको छ । डीएसपी श्रेष्ठले यस अघि नै परीक्षा दिइसकेर उत्तीर्ण भएइसकेका कारण आफ्ना कागजपत्र लिन खरेल आएका बेला घटना भएको बताए । तर मापसे गरेर चलाइएका सवारी साधनका चालकको कागजपत्र भने ट्राफिक प्रहरीको नियन्त्रणमा हुन्छ ।
परीक्षा मात्रै जिल्ला प्रहरी कार्यालयमा लिने गरिएको छ । विराटनगरमा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय लगभग डेढ किलोमिटर टाढा छन् । चालकका कागजपत्र ट्राफिक प्रहरीसंग हुने र जिल्ला प्रहरी कार्यालयमा पुगेका बेला खरेलको मृत्यु भएपछि उनी परीक्षा दिनकै लागि गएको पुष्टि हुने बताइएको छ ।
Comments