Sajhamanch Archive

नयाँ शक्तिको जनसंवाद यात्रा, किन सहभागी भइनन् करिष्मा मानन्धर ?

Published: in राष्ट्रिय समाचार by .

ताप्लेजुङ । समृद्ध नेपालको परिकल्पनासहित नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले जनसंवाद यात्राको थालनी गरेका छन् ।

एक महिने जनसंवाद यात्राको नेपाल–भारतको सीमाक्षेत्रमा पर्ने पाँचथरको चिवाभञ्ज्याङमा मङ्गलबार एक कार्यक्रमबीच डा. भट्टराईले शुभारम्भ गरेका छन् । पूर्वको चिवाभञ्ज्याङदेखि शुरु भएको उक्त जनसंवाद यात्रा एक महीनापछि सुदुरपश्चिम प्रदेशको बैतडीस्थित झुलाघाट नाकामा पुगेर टुङ्गिने छ ।

सोही यात्राका क्रममा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने विभिन्न पर्यटकीय तथा व्यापारिक क्षेत्रका नागरिक, जनप्रतिनिधिलगायतसँग छलफल र अन्तरक्रिया गरिने बताइएको छ । अभियानको शुभारम्भ गर्दै डा. भट्टराईले सो यात्रा तथा अभियान मुलुकको समृद्धिसँग जोडिएको बताएका छन् ।

जनसंवाद यात्रा तथा अभियान आफ्नो पार्टीको एजेण्डा नभई साझा अभियानका रुपमा यसको शुभारम्भ गरिएको उनको भनाइ थियो । मध्यपहाडी लोकमार्गले मेचीदेखि महाकालीसम्मको भुगोललाई मात्रै नभई हरेक जातजाति र समुदायलाई समेत जोडेकाले यही लोकमार्ग भएर सञ्चालन हुने यात्रामार्फत समृद्धिको सुत्र तयार हुने डा. भट्टराईले स्पष्ट पारेका छन् ।

जनसंवाद यात्रामा उनकी धर्मपत्नी एवं सो पार्टीकी नेता हिसिला यमी, नयाँ शक्ति पार्टीका अन्य नेता तथा कार्यकर्ता सहभागी छन् । नयाँ शक्तिकी नेत्री तथा अभिनेत्री करिष्मा मानन्धर भने अभियान शुरुवातको समयमा देखिइनन् ।

‘असल राजनीति र समावेसी विकासका लागि जनसंवाद’ नारा दिइएको उक्त यात्रा तथा अभियानका क्रममा २७ जिल्लाका करीब ९० स्थानमा कार्यक्रम गरिने नयाँ शक्ति पार्टी नेपालका ताप्लेजुङ संयोजक सविन बानियाँले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *