Sajhamanch Archive

प्रदेशसभा बैठकबाट प्रदेश नं. १ को राजधानी र नाम टुङ्गो लाग्नेः मुख्यमन्त्री राई

Published: (Updated: ) in राजनीति by .

विराटनगर । प्रदेश नं. १ को राजधानी र नाम प्रदेशसभा बैठकबाट टुङ्गो लाग्ने भएको छ । माघ २० गतेबाट सुरु हुने प्रदेश सभा बैठकबाट राजधानी र नाम टुङ्गो लाग्ने प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बताए ।

नगर विकास कोषको ऋण सहयोगमा विराटनगर महानगरपालिकाले वडा नं ११ मा निर्माण गरेको बस टर्मिनलको आज उद्घाटनका क्रममा उनले प्रदेशको पूर्वाधार निर्माण गर्न आगामी केही दिनमा निजी क्षेत्रको सहकार्यमा लगानी सम्मेलनको आयोजना गर्ने समेत जानकारी दिए ।

उनले विकास र संवृद्धिको उद्देश्यप्रति केन्द्रित भएर सरकारले विकास निर्माणको वातावरण तयार गरिरहेको धारणा राख्दै हिमाल, तराई र पहाडका जनताको विकासप्रतिको चाहना परिपूर्ति गर्न भूगोलअनुसारका विकास कार्य गर्न प्रदेश सरकार योजनाबद्ध भएर लागेको चर्चा गरेका थिए ।

मुख्यमन्त्री राईले विराटनगरवासीको चाहनाअनुरूपको बृहत् मनोरञ्जनस्थलका पार्कको निर्माण गर्नुपर्नेमा जोड दिँदै ‘सडक, विद्युत्, सहरीकरण, स्वास्थ्य, शिक्षा’ जस्ता जनताका आवश्यक विकास योजनालाई गुरुयोजना बनाई सरकारले निर्माण गर्ने छ बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले टर्मिनल क्षेत्रमा सेवा केन्द्र स्थापनाका लागि सरकारले सहयोग गर्ने बताउँदै यसको संरक्षण, सफाइ र सुरक्षाका लागि सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले दक्ष जनशक्ति निर्माणका लागि प्रदेश सरकारले नौ हजार युवालाई तालीम प्रदान गर्ने बताउँदै नगर क्षेत्रमा ३०० किलोमिटर सडक कालोपत्रे, विमानस्थल विस्तार र वैजनाथपुरमा सुविधासम्पन्न खेलमैदान निर्माण कार्य अगाडि बढाएको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *