Sajhamanch Archive

प्रेमिकालाई मार्ने खतरनाक प्लान

Published: in राष्ट्रिय समाचार by .

इलाम । दुई युवतीसँग एक दशककोे प्रेम सम्बन्धलाई मृत्युमा परिणत गरेर अर्कै तरुनी च्याप्न खोज्ने युवक चिसो खोरमा परेका छन् ।

सन्दकपुर गाउँपालिका–३ का ३३ वर्षीय सागर सुवेदीले दुई जना युवतीसँगको लामो प्रेम सम्बन्ध र उठबसलाई अन्त्य गरेर झापाकी अर्की युवतीसँग विवाह गर्न खोजेका थिए । तर, उनको यो योजना अन्ततः ध्वस्त भएको छ ।

फिल्मी शैलीको घटना यस्तो छ–गाउँकै मगर थरकी युवती र इलाम नगरपालिका–९ बस्ने कार्की थरकी युवती भित्र्याउन लागेका थिए । केटी समेत मागेर फूलमालाको काम भइसकेको थियो । विवाहको मिति समेत माघ २८ गतेलाई तय गरियो । सुवेदीले कार्की थरकी युवतीसँग विवाह गर्ने प्रलोभनमा सात लाख २० हजार पैसा लिएका थिए भने मगर थरकी प्रेमिकालाई मार्ने योजना बनाए ।

हुतुलुङकी मगर थरकी युवतीलाई आमा बाबुले अन्तरजातीय विवाह नस्वीकार्ने भन्दै भाग्नुपर्ने बताएर माघ १५ गते झापा आफन्तकोमा पठाए । १६ गते साँझ विवाह गर्ने भनेर इलाम बोलाए । बिब्ल्याँटेमा साँझ सुलुबुङबाट लिन आए । राति सुलुबुङ आफ्नो घर पुर्‍याए । घरैमा एकैछिन बसे । उनीहरूको सामान्य विवाद घरमै पनि भइरहेको स्थानीयले बताएका छन् । रातको ११ बजेपछि घरले नस्वीकार्ने भन्दै घरबाट हिंडाए ।

उत्तरतिरको जंगलमा पुर्‍याएपछि दुवै जना मरौं भन्दै दुई बोत्तल विष झिके । एउटा आफू खाने भन्दै अर्को बोत्तलको विष खान सुवेदीलाई कर गरे । तर, युवतीले नमानेपछि कुटपिट गर्न थाले । युवतीको लामो कपाल रूखमा झुण्ड्याए । कपाल चुँडिएर उनी भुइँमा झरिन् । विष कोच्याउन खोजे । केटीले खोसेर फालिदिइन् । त्यसपछि कुटपिट गर्दै खाल्डोमा धकेले । माथिबाट ढुंगाले किच्याए । बाँसले घोचे । तर, ढुंगाले युवतीलाई लागेन ।

आधा रातमा यो सब काम गरेर युवती मरी भन्दै घर फर्किए । घरमा आएर भोलिपल्ट बिहान शहीद दिवसको दिन सामान्य जसरी विवाहको तयारीमा लागे । यता, केटी भने बिहान होशमा आएर घिस्रिँदै नजिकैको घरमा पुगिन् । त्यसपछि सुवेदीको कर्तुत बाहिर आयो । युवतीलाई उपचारका लागि बिर्तामोडको बिएण्डसी अस्पताल पठाइयो । सुवेदीलाई पक्रिएर प्रहरीले अनुसन्धान थालेको छ ।

यो सबै सुनेपछि इलाम नगरपालिका बस्ने कार्की थरकी युवती पनि आफूसँग १० वर्षदेखि प्रेम सम्बन्ध रहेको र बिहे गर्ने आश्वासन दिएर ७ लाख २० हजार पैसा लिएको भन्दै तमसुकसहित सन्दकपुर गाउँपालिका–३ का वडाध्यक्ष कृष्ण पाठक समक्ष आइन् । ती युवतीले आफ्नी दिदीसँग ५ लाख र आफूसँग दुई लाख २० हजार लिएको बताइन् । पाँच लाखको तमसुक भए पनि दुई लाख २० हजारको भने थिएन । वडाध्यक्ष पाठकले आफ्नै वडाध्यक्षमार्फत कार्बाही प्रक्रिया अघि बढाउनू भनेपछि ती युवती पनि प्रहरीको शरणमा पुगेकी छन् । जनआस्था साप्ताहिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *