झापामा आधुनिकस्तरको बायोमास ब्रिकेट उद्योग सञ्चालनमा
Published:
by .
भद्रपुर । भारतबाट आयातित कोइलामा आत्मनिर्भर चिया तथा इँटा उद्योगलाई लक्षित गरी झापामा आधुनिकस्तरको बायोमास ब्रिकेट उद्योग सञ्चालनमा ल्याइएको छ।
भद्रपुरका युवा उद्योगी आदित्य पराजुलीले करिब १२ करोडको लागतमा मेचीनगर १५ ज्यामिरगढीस्थित हडिया उत्तरमा बायोमास ब्रिकेट उद्योग सञ्चालनमा ल्याएका हुन्। अढाई विगहा क्षेत्रफलमा सञ्चालित यस उद्योगको नाम पराजुली बायोमास ब्रिकेट उद्योग रहेको छ। ‘भारतको आसाम, मेघालयबाट नेपाली बजारमा आयातित बढ्दो कोइलाको मूल्य र घट्दो गुणस्तरलाई लक्षित गरी झापामा यस उद्योगको स्थापना गरेको हो’, सञ्चालक पराजुलीले भने, ‘बायोमास ब्रिकेट उत्पादनका लागि काम नलाग्ने उखुको खोस्टा, प्लाई र काठका टुक्राहरू प्रयोग गरिन्छ, यहाँ उत्पादित ब्रिकेट कोइला जस्तै गुणस्तर र भरपर्दो हुन्छ।’
‘यहाँका उद्योगीले कोइला खरिद गर्न नेपाली रुपैयाँ भारतमा पठाउनु पर्ने र भनेका बेलामा कोइला नपठाउने, नआउने दिर्घकालीन समस्या थियो, अब त्यसको पनि अन्त्य भएको छ’ उनले थपे। उनका अनुसार कोइलामा सल्फरसँगै २० प्रतिशत खरानी निस्किन्छ, ब्रिकेटमा सल्फर हुर्दैन भने खरानी २ प्रतिशत मात्र निस्किन्छ, यसले पनि फाइदा गर्छ। ‘ब्रिकेटको खरानीलाई खेतीबारीमा मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ’, उनले भने। प्रतिकेजी कोइलाको मूल्य नेपाली २७ रुपैयाँ पर्छ, बिक्रेटको मूल्य १५ रुपैयाँ तोकिएको उद्योगले जनाएको छ। उद्योगले प्रति घण्टामा ५ देखि ६ टनसम्म ब्रिकेट उत्पादन गर्छ। ब्रिकेट उद्योग सञ्चालनमा आएसँगै २५ देखि ३० जनाले रोजगारी पाएको सञ्चालक पराजुलीको भनाई छ। झापामा हाल २६ वटा चिया उद्योग र दुई दर्जन बढी इँटा उद्योग सञ्चालित छ। चिया र इँटा उत्पादनका लागि कोइला आवश्यक पर्छ। अब, कोइलाको विकल्पमा ब्रिकेट उत्पादन शुरु भएपछि यसले झापाका बजार नभएर नेपालभरका विभिन्न जिल्लामा समेत पठाइने उनले बताए।
Comments