Sajhamanch Archive

सडक स्तरोन्नीको कामको प्राविधिक टोलीद्वारा अनुगमन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । भद्रपुर स्थित सडक स्तरीकरणको काम भइरहेका सडक निर्माण स्थलको अनुगमनमा खटिएका सुपरभाइजर कार्यस्थलमा नबस्दा गुणस्तरीय काम हुन नसकेको पाइएको छ ।

सघन शहरी विकास कार्यक्रम अन्र्तगत ६ वटा प्याकेजमा सडक स्तरीकरणको काम भइरहेका नगरमा चालु रहेका २० वटा निर्माण स्थलका लागि १२ जना सुपरभाइजर स्थलगत अनुगमनका लागि खटिएका भए पनि कार्य स्थलमा नबस्दा निर्माण कम्पनीको चाहना अनुसार काम भइरहेको पाइएको हो ।

सव ओभरसियर प्राविधिकका रूपमा खटाइएका भनिएका अधिकांश सुपरभाइजर कार्यस्थलमा बस्ने गरेका छैनन् ।
उनीहरूलाई खरिदार स्तिरको तलव भत्ता सहित करारको नियुक्ति दिएर सघन सहरी विकास आयोजनाले स्थलगत अनुगमनमा पठाएको जनाए पनि निर्माण गुणस्तर मापन र नियामनका रूपमा ती कर्मचारीले काम गर्न सकेका छैनन् । आयोजनाले सवै प्राविधिक कर्मचारी खटाएको दावी गरे पनि राजनीतिक नेतृत्वका आफन्तलाई काम दिन सुपरभाइजरको नियुक्ति दिलाइएका अधिकांश स्थल कर्मचारी अप्राविधिक रहेकै कारण निर्माण गुणस्तर बारे निर्माण कम्पनीका कामदारलाई नियन्त्रण गर्न असफल भइरहेको निर्माण सम्बद्व मजदुरको भनाइ छ । सुपरभाइजरले सिमेन्ट, बालुवा, गिटी, ढुंगाको परिणाम बारे जान्न नसकेकै कारण वाल चर्कने, फुट्ने जस्ता जटिल समस्या देखिने गरेको स्थानीयको भनाइ छ ।

यता सघन सहरी विकासका इञ्जिनियर गजेन्द्र साह भने आवश्यकता अनुसार स्थलगत निरीक्षणका लागि खटाइने कर्मचारी अपुग भए पनि सुपरभिजनको काममा कमी नरहेको तर्क गर्छन् । उनका अनुसार १२ जना खरिदार स्तरका प्राविधिक सुपरभाइजरका रूपमा नगर क्षेत्रका सडक निर्माण स्थलमा खटिएका छन् । कार्यालयले सवारी साधनका रूपमा एक एक वटाका दरले साइकल दिएको जनाउँदै इञ्जिनियर साह भन्छन् मोटरसाइकल हुनेलाई कार्यालयले इन्धनको व्यवस्था समेत गरेको छ ।

इञ्जिनियर साहको भनाइको अनुसरण गरी सडक निर्माण स्थलमा पुग्दा कर्मचारी भेटिदैनन् । यता निर्माण मजदुर भने कुनै दिन सुपरभाइजर आउने, कुनै दिन नआउने जनाउँछन् । निर्माण व्यवसायी भने अस्थायी तथा करारका कर्मचारी भएका कारण आफ्नो जिम्मेवारी भन्दा पनि दिन कटनीमा मात्र लागेकाले स्थलगत जिम्मेवारीमा नरहेको हुन सक्ने तर्क गर्छन् ।

बहुवर्षे आयोजना अन्र्तगत ६ वटा प्याकेजमा २५ वटा योजनाका कामहरू पक्की नाला निर्माण सहित सडक विस्तार भइ रहेको भद्रपुर नगरपालिका क्षेत्रमा दुई अर्व रुपैयामा ५ वर्ष भित्र साना तथा साँघुरा सडक फराकिला बन्ने निर्धारित लक्ष्य लिएर काम भइरहेको छ । शहरी विकास तथा भवन निर्माण विभाग अन्र्तगत भइ रहेको यो कामको स्तरीयता कायम गर्न डिभिजन कार्यलय मार्फत सधन सहरी विकास आयोजना कार्यालयले विज्ञ टोली सहितको इन्जिनियरको प्राविधिक टोली स्थलगत रूपमा खटाइएको छ । तर प्राविधिकले राम्रो अनुगमन नगरेको भन्दै स्थानीयले आरोप लगाउने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *