Sajhamanch Archive

नेकपाले देशभरि नै जनयुद्ध दिवस मनाउने

Published: in राष्ट्रिय समाचार by .

विराटनगर । तत्कालीन माओवादीले ‘सशस्त्र युद्ध’ थालेको दिन फागुन १ लाई नेकपाले शहीदहरूको स्मृति दिवसका रूपमा मनाउने भएको छ । तत्कालिन माओवादीले ‘जनयुद्ध दिवस’को रूपमा मनाउने फागुन १ गतेलाई नेकपाले सहिद स्मृति दिवसको रुपमा देशभर मनाउने भएको हो ।

पार्टी एकताका क्रममा दुवै पार्टीका विगतका संघर्षको सम्मान गर्ने नीतिअनुसार जनयुद्ध सुरू भएको दिन फागुन १ गतेलाई मनाउने निर्णय नेकपाले गरेको हो । नेकपाका महासचिव विष्णु पौडेलले पार्टी केन्द्रदेखि तल्लो तहसम्म कार्यक्रम आयोजना गर्न ‘सर्कुलर’ गरेको नेकपा मोरङले जनाएको छ ।

शहीदको सम्मान र सम्झनामा नेकपाले जनयुद्ध दिवस मनाउन लागेको नेकपा केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए । तत्कालिन नेकपा एमालेले नमानेको भएपनि तत्कालिन माओवादीले ऐतिहासिक दिनको रुपमा मनाउने दिवसलाई एकीकरणपछि नेकपाले मनाउने भएको उनको भनाइ छ ।

जनयुद्ध दिवसको दिन केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी कार्यालयहरूमा जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको सम्मानमा श्रद्धाञ्जली सभा आयोजना हुने भएको छ । मोरङको पार्टी कार्यालय पाञ्चालीमा बुधबार विहान कार्यक्रम हुने र १७ वटै स्थानीय तहमा कार्यक्रम हुने नेकपा मोरङका प्रस्तावित अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए । जनयुद्ध दिवसको कार्यक्रम केन्द्रमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने तय भएको छ । उक्त कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पनि सहभागी हुने नेकपाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *