Sajhamanch Archive

आफ्नै अपहरणको नाटक गरी आमासँग फिरौती माग्ने पक्राउ

Published: in राष्ट्रिय समाचार by .

जनकपुरधाम। आफ्नै अपहरणको नाटक रचेर आमासँग १५ लाख फिरौती माग्नेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

धनुषाको जनकपुरधाम उप–महानगरपालिका वडा नं. १७ बेलौनी बस्ने अजय कुमार साहले आफ्नै अपहरणको नाटक गरी फिरौती माग्न लगाएको आरोपमा तीन जनालाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा आफ्नै अपहरणको नाटक रच्ने जनकपुरधाम उप–महानगरपालिका वडा नं. १७ बेलौनी बस्ने २२ वर्षिया राजकुमार साह, जनकपुरधाम उप–महानगरपालिका वडा नं. २३ बस्ने २० वर्षिय समसाद नदाफ र रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नं. ८ बस्ने २५ वर्षीय अरविन्द यादव रहेका छन्।

धनुषाका प्रहरी उपरिक्षक शेखर खनालका अनुसार २०७५ माघ १५ बिहान १० बजे राजकुमारले आमा रेखा कुमारी साहलाई साथीको जन्म दिनको पार्टीमा जान्छु भन्दै घरबाट निस्किेका थिए। त्यसअघि पनि २–३ दिन सम्म घर नआउने छोराको बानीले हैरान भएकी आमाले ४ दिनसम्म छोरा नआउँदा चिन्तित थिइन्। सोही क्रममा अज्ञात व्यक्तिले अजयको आमा रेखा देवीलाई फोनमार्फत् तेरो छोरा अजय कुमार साह मेरो कब्जामा छ, मैले उसलाई अपहरण गरेको छु। छोराको माया भए फिराती वापतको १५ लाख रकम आफै वा अरु मार्फत पठाईदिन भनेर धम्क्याए। तर, अजयकी आमा रेखाले १५ लाख दिन नसक्ने भनेपछि बार्गेनिङमा ५ लाख दिने सहमति भयो।

सोही क्रममा रेखा देवीले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष टोली परिचालन गरी फिरौती लिन आएका समसाद नदाफलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा सोही कार्यमा संलग्न अरविन्द यादवलाई महोत्तरीको बर्दिबासबाट पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। दुवै पक्राउ परेपछि अनुसन्धानको क्रममा अपहरणमा परेका भनिएका अजय कुमार साहले स्वयंम मोटरसाइकल किनेर भारतको गोवा घुम्न जाने इच्छा रहेकोले आफू अपहरणमा परेको देखाई फिरौतीको नाटक गरेको बताएको प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए। पक्राउ परेका तीनै जनालाई सार्वजनिक हीतविरुद्धको अपराधमा म्याद थपेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिए।
थाहा खबरबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *