ओखलढुंगामा खेतियोग्य जमिन मासेर धमाधम बस्ती निर्माण
Published:
by .
ओखलढुंगा । ओखलढुंगाका ग्रामिण भेगमा सडक बिस्तारसँगै खेती योग्य भूमीमा बस्ति बिस्तार हुन थालेका छन्। सडक बिस्तारसँगै सुविधाहुने भएका कारण खेती योग्य भूमीमा बस्ति बिस्तार हुन थालेका हुन्।
पहिलेका ठूलाठूला खेतीयोग्य फाँट सकिन लागेका छन्, ठूला खेतका फाँटमा अब कङ्कीटले जोडीएका ढाँडका ढुंगा सरी गरी बनाइएका घरहरूले बग्रेल्ती भरीएका छन्। सडक बिस्तारसँगै साविकमा गाविस रहेका क्षेत्रलाई गाउँपालिकामा समेटिए पछि ओखलढुंगाका कतिपय क्षेत्रका उर्वरभूमि घडेरीमा समेत बिक्री हुने क्रम बढ्न थालेको छ।
सरकारले अंशबण्डाको काम बाहेकको जग्गाको कित्ताकाट गर्न केही समय रोकेको अवस्थामा केही हदसम्म कित्ताकाटमा कमी आए पनि जग्गाको खरीद बिक्री भने रोकिएको छैन्। शहरी क्षेत्रमा संरचना निर्माण हुने क्रम बढ्नु स्वभाविक भएको भए पनि गाउँपालिकामा समेटिएका ग्रामीण क्षेत्रमा समेत घर संरचना निर्माण हुने क्रम ह्वात्तै बढ्दा खेतीयोग्य जग्गा मासिने क्रम बढेको लिखु गाउँपालीका–४ का सुदिप कटुवालले बताए। ओखलढुंगाको लिखु गाउँपालीकाको साविक टारकेराबारीको सिरीसे, गाम्नाङ्गटारको सिन्कीचौर र माटेबेसी, गाउँपालीकाको केन्द्र रहेको यसम, चम्पादेवी गाउँपालीकाको घोराखोरी सेराबेसी, मोलुङ्ग गाउँपालीकाको रामपुरटार र प्राप्चा, चिसंखुगढी गाउँपालीकाको शेर्ना बेसीको फाँट, मानेभञ्ज्याङ्ग गाउँपालीकाको टोक्सेलको हर्कपुरलगायतका दर्जनौ स्थानमा सडक पुगेपछि खेतीयोग्य जमिनलाई मासेर क्रंकीटले भरीदै छ।
सडक बिस्तार र स्थानीय तहका केन्द्रमा बसाइँसराइको चाप पनि बढ्दो छ। बढ्दो बसाँई सराई र सडक बिस्तारका कारण खेती योग्य जमिन क्रङ्कीटले भरीन लागेको खिजीदेम्वा गाउँपालीकाका अध्यक्ष बेदबहादुर रोकाको भनाइ छ। खास गरी कोशी किनारमा अव्यबस्थित शहरीकरण र कतिपय स्थानीय तहका केन्द्र खेतीयोग्य जमिनमा स्थापना हुने भएपछि जग्गा खरीद बिक्री र अव्यबस्थित घर निर्माण तिब्र गतीमा बढेको छ। सडक आसपासमा ग्रामीण बस्ति बसाल्नाले खेतीयोग्य भुमी बस्तिमा परीणत हुँदै छ। जिल्लमा सडक आसपासका क्षेत्रमा पछिल्लो समय जग्गाको मूल्यसमेत आकासिएको छ।
गाविस कायम रहेको अवस्थामा जग्गाको मूल्य प्रति रोपनी भन्दा पनि उब्जनीको भरमा एक मुरी धान उत्पादन हुने खेतलाई दुई लाख सम्ममा किनबेच हुदै थियो तर अहिले सडकले छोएको जमिन प्रति आना पचास हजार देखी तीन लाखसम्म पर्ने गरेको लिखुगाउँपालीका ८ का युवा नविन पौडेलले बताए। खेतीयोग्य जग्गा सकिन लागेपनि बसोवासका लागि जग्गा खोजी गर्नेको संख्यामा कमी नभएको चम्पादेवी गाउँपालीका १० का वडा अध्यक्ष उज्जन बुढाथोकी बताउँछन्। पछिल्लो समय जिल्लामा सडक बिस्तारको क्रम बढ्दै गए पछि सडक आसपासका क्षेत्रमा जग्गा खरीद गर्नेको संख्या बढेको छ। खेत घडेरीमा परिणत हुँदा खाद्यान्न सङ्कट निम्तिने खतरा भएको बताउँदै समयमै खेती योग्य भुमीमा घर निर्माणको चाप रोक्न ठोस् योजना बनाउनु पर्ने आावश्यक रहेको बुढाथोकीको भनाइ छ।
Comments