Sajhamanch Archive

विराट सत्संग समारोहको तयारी पुरा

Published: in राष्ट्रिय समाचार by .

मेचीनगर । झापाको मेचीनगर— ७ मा आगामी फागुन २३ र २४ गते हुने अन्तर्राष्ट्रिय स्तरको आध्यात्मिक कार्यक्रम ‘विराट सत्संग समारोह २०७५’ को तयारी पुरा भएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलन मार्फत तयारीका बारेमा जानकारी गराएको थियो ।

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा हुन गइरहेको कार्यक्रममा देश विदेशबाट सन्तमहात्मा र भक्तजनको सहभागिता रहने पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद पौडेलले जानकारी दिए ।

समारोहमा नेपाल मानव धर्म सेवा समितिका प्रणेता तथा अन्तर्राष्ट्रिय अध्यात्म प्रचारक सद्गुरुदेव श्री सतपालजी महाराजबाट उद्घाटन र आसिरवचन व्यक्त हुने कार्यक्रम रहेको छ । स्थानीय कला संस्कृतिको प्रवद्र्धनका लागि समारोहमा विभिन्न आध्यात्मिक, सांस्कृतिक कार्यक्रम र झाँकी समेत प्रस्तुत गरिने छन् । कर्णप्रिय वाद्यवाधक तथा गायकबाट प्रस्तुत हुने भजनकीर्तनले समेत भक्तजनलाई आध्यात्मिक मनोरञ्जन प्रदान गर्ने आयोजकले बताएको छ ।

सामाजिक सद्भाव, आत्मिक शान्ति र आध्यात्मिक चेतना अभिवृद्धिका लागि मानव धर्म सेवा समितिले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरको धार्मिक कार्यक्रम गर्ने गरेको छ । धर्म र भगवानबारे रहेका विभिन्न मतको सार तत्वलाई दर्शाउँदै मानव धर्मले ईश्वरको साक्षात दर्शन गर्न सकिने बाटो समेत बताउने गरेको अध्यक्ष पौडेलले भनाई छ ।

उहाँका अनुसार यसअघि काठमाडौं, चितवन, हेटौडा, नेपालगञ्ज, महेन्द्रनगर लगायत क्षेत्रमा धार्मिक कार्यक्रम सम्पन्न भइसकेका छन् । समारोहमा नेपाल तथा छिमेकी भारतका विभिन्न क्षेत्रबाट गरी १ सय बढी सन्त महात्मा र १ लाखको हाराहारीमा भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ । समारोहमा सहभागी हुन आउने भक्तजनका लागि बस्न र खानको व्यवस्थापनदेखि आकस्मिक स्वास्थ्य उपचारको व्यवस्था स्वयम् सेवक दलले गरेको छ ।

समारोहको व्यवस्थापनका लागि समितिको केन्द्रीय समिति, स्वयंसेवक दल, भक्तजनहरू सक्रिय छन् । समितिले स्थानीय प्रशासन र विभिन्न संघसंस्थासँग समन्वय गरेर समारोहको तयारी गरिरहेको छ । झापा जिल्लाको प्रतिष्ठा र पर्यटन प्रवद्र्धनसँग समेत जोडिएको अन्तर्राष्ट्रिय स्तरको आध्यात्मिक कार्यक्रम सफल पार्न सबै क्षेत्रबाट सहयोगको अपेक्षा लिएको आयोजकको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *