आगलागीमा परी बहिनीको मृत्यु, दिदी गम्भीर घाइते
Published:
by .
डडेल्धुरा । डडेल्धुरामा आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ भने अर्की एक गम्भीर घाइते भएकी छन् । डडेल्धुराको आलिताल गाउँपालिका– ८ गोदाममा भएको आगलागीमा परी ८ वर्षीया बालिकाको मृत्यु भएको हो भने ११ वर्षीया बालिका गम्भीर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार मंगलबार राति करीब ८ बजे गोदाम बजारस्थित उत्तम थापाको किराना पसलमा आगलागी हुँदा थापाकी आठ वर्षीया छोरी आरतीको मृत्यु भएको छ भने अर्का जेठी छोरी ११ वर्षीया निरुता गम्भीर घाइते भएकी छन् ।
गम्भीर घाइते निरुतालाई थप उपचारका लागि काठमाडौँ लगिएको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए । उत्तम थापाको किराना पसलबाट शुरु भएको आगलागीबाट सँगैका रामबहादुर धामी, दिलबहादुर रानाको घरमा पनि आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए । आगो कसरी लाग्यो भन्ने कुरा खुल्न सकेको छैन ।
Comments