केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेर कांग्रेसका नेताहरू भोज खान हिँडे
Published:
by .
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेर वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका ठूला नेताहरू विवाह भोज खान तराई झरेका छन् ।
ललितपुरको सानेपामा मांगलबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले पेलेर जान खोजेको भन्दै पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले बैठक बहिस्कार गरेका थिए ।
अनुशासन समिति बनाउने विषयमा पौडेल र सिटौला समूहले बखेडा झिकेका थिए । पौडेल र सिटौलाले पाँच सदस्यीय अनुशासन समितिमा दुई वटा सदस्य पाएका छन् । देउवाले संयोजकसहित दुई सदस्य आफैले राखेका छन् ।
पौडेल र सिटौला समूहले अनुशासन समितिले जे निर्णय गरे पनि सर्वसम्मत गर्नुपर्ने उट्पट्याङ अडान राखेपछि बैठक नै बस्न नसकेको हो ।
पौडेल र सिटौला समूहका कारण मंगलबारको बैठक बस्न सकेन । केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
बैठकमा सहभागी नभएका वरिष्ठ नेता पौडेल, माहामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य डा.शेखर कोइराला, केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाकी मुख्य सचेतक सरिता प्रसाइँ रौतहट विवाह भोज खान आएका हुन् ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद मोहम्मद अफताब आलमका छोराको विवाह भोज खान आएको स्रोतले जनाएको छ ।
बाराको सिमरा एयरपोर्टमा कांग्रेसका नेताहरू अपरान्ह पुगेका थिए । उनीहरूलाई नेपाली कांग्रेस रौतहटका प्रतिनिधि सभाका सांसद देवीप्रसाद तिमिल्सिनासहितका नेताहरूले स्वागत गरेका थिए ।
कांग्रेस सांसद आलमका छोराको विवाह भोज फागुन १५ गते बुधबार रहेको छ । कांग्रेसका नेताहरू विवाह भोज खाएर मात्रै काठमाडौं फर्कनेछन् ।
दैनिक नेपालबाट ।
Comments