संग्रौलाको ‘धरहरा’ महाकाव्य लोकार्पण
Published:
by .कनकाई । साहित्यकार हरिभक्त संग्रौलाद्वारा लिखित तेस्रो महाकाव्य ‘धरहरा’को शनिबार एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसको सभाहलमा आयोजित साहित्यिक समारोहमा उक्त कृतिको लोकार्पण गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य सुभद्रा अर्याल र पूर्व प्राज्ञसभा सदस्य यज्ञराज प्रसाईंले सो कृति लोकार्पण गरेका हुन् । त्यस क्रममा प्रमुख अतिथि प्रसाईं, विशिष्ट अतिथि अर्याल, प्रगतिशील लेखक संघ झापा अध्यक्ष राजेन्द्र संग्रौला, शिक्षासेवी गुरुभक्त न्यौपाने, स्रष्टा बाबुराम श्रेष्ठ (वर्षा), समाजसेवी गोपाल संग्रौला लगायतले कृतिकारलाई शुभकामना दिए ।
साहित्यकार हरिनारायण भट्टराईले लोकार्पित कृतिको समीक्षा गरेको कार्यक्रममा लेखक संग्रौलाले महाकाव्य र साहित्यिक जीवनबारे धारणा राखेका थिए । साहित्यकार मातृकाप्रसाद संग्रौलाद्वारा कविता र नाकले बाँसुरीको धुन प्रस्तुत गरिएको उक्त कार्यक्रममा कविहरु पुष्पलाल विष्ट, हरिप्रसाद रिमाल, नुरज भट्टराई (नदी), इन्द्र कटुवाल लगायतले कविता प्रस्तुत गरेका थिए ।
सो अवसरमा कनकाई बहुमुखी क्याम्पसका प्रमुख विकास उप्रेती, कनकाई माविका प्रधानाध्यापक गोपीकृष्ण भट्टराई, समाजसेवी पशुपति संग्रौला लगायतको आतिथ्यता थियो । संग्रौला वंश समाजका अध्यक्ष दिलीपकुमार संग्रौलाको अध्यक्षतामा सम्पन्न कृति लोकार्पण कार्यक्रममा स्वागत समीक्षक एवम् साहित्यकार देवी संग्रौला र सञ्चालन साहित्यकार खगिन्द्रा खुशीले गरेकी थिइन् ।
कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा निवासी साहित्यकार संग्रौलाले यसअघि उषा र धरातल शीर्षकका महाकाव्य प्रकाशित गरिसकेका छन् । गत साउन २६ देखि फागुन २६ गतेसम्मको ७ महिने अवधिमा उनले उषा, धरातल र धरहरा महाकाव्य लेखेका हुन् ।
Comments