छोराहरुबाट तिरस्कार, धर्मछोरीबाट आश्रय
Published:
by .उपन्यास अंशः
दाताराम सरको गह आँसुले भरियो ।
उनले हतारहतार आँसु पुछे । अनि आफू सुतेको ओछ्यानको छेउमा बसेकी धर्मछोरी सरिताको अनुहार नियालेर हेरे । हात लम्काएर गालामा र टाउकामा सुम्सुम्याए । मानौं, वर्षौपछि उनले आफ्नै छोरीलाई भेटेका छन् ।
तर उनको गलाबाट एक वाक्य पनि निस्कन सकेन ।
बुबाले आँखाबाट निरन्तर आँसु बगाएको देखेपछि सरिताको पनि गला भरिएर आयो । आँसु पछ्दै भनिन्– “बुबा, हजुरले अब कुनै चिन्ता गर्न पाउनुहुन्न । म जीवनभरि हजुरको सेवा गर्छु । कुनै कुराको पनि अभाव हुन दिन्नँ । यस आश्रममा हजुरले हाम्रो अभिभावक भएर सधैं बस्नुपर्छ । छोरीको साथमा आइपुगेपछि पनि हजुरले चिन्ता लिनुभयो भने मेरो मन दुख्छ… ।”
दाताराम सरले हात हल्लाएर छोरीलाई त्यसभन्दा बढी नबोल्न भने । त्यसबेला भावुकताको छालले हिर्काएर उनलाई धैर्य गर्नै मुस्किल बनाइरहेको थियो । किनारामा आइसकेका आँसुका ढिक्का हतारहतार पुछ्दै अर्कोपट्टि फर्केर आँखा चिम्ले ।
छोरी सरिता पनि निस्केर आफ्नो काममा लागिन् । त्यसपछि सर पनि सडक किनारामा बेवारिसे हुन पुगेको दिनको घटना सम्झन लागे ।
खासमा त्यस दिन उनी घरभन्दा पश्चिमको नहरमा फेला परेको कान्छो छोराको लासको पोस्टमार्टमका लागि प्रहरीसँगै मेची अञ्चल अस्पताल पुगेका थिए । तर सम्बन्धित डाक्टर नभएर पोस्टमार्टममा ढिलाई भइरहेको थियो ।
लास रुँगेर बस्दाबस्दै सरका मनमा अनेक कुरा खेले । जेठा र माइला छोराबुहारीले गरेको अपमान सम्झे । कान्छा छोराले पिलाएका अपमानका घुड्का र दिलाएका दुःख एक–एक गरी सम्झे । बाल्यकालमा आफूले ब्यहोरेका हन्डरदेखि छोराहरूलाई हुर्काउँदा खपेका कष्ट सबै सम्झे । श्रीमती गुमाए पछिको एक्लोपनले उनलाई झन् बढी पोल्यो । साथमा गएका छिमेकीहरूलाई पत्तै नदिई उनी अस्पतालबाट निस्के । तर कहाँ जाने भन्ने कुरा उनी आफैंलाई थाहा थिएन ।
कैयौं दिनदेखि राम्ररी खानासमेत नखाएको उनको शरीर एकदमै जीर्ण भइसकेको थियो । त्यो दिन त झन् उनले बिहानदेखि पानीसमेत पिएका थिएनन् । लेखनाथचोकभन्दा अलि मास्तिर पुगेपछि उनलाई पाइला सार्नै मुस्किल पर्न थाल्यो । भोक र प्यासले टाउको भाउन्न भएर आयो । आराम गर्न कल्भर्टमा बसेका मात्र के थिए, उनी त्यहीं ढले ।
तर उनको स्मरणमा लेखनाथचोकबाट मास्तिर लागेको कुरा मात्र याद थियो ।
……………………….
मेची अञ्चल अस्पतालमा भाइको लास अलपत्र परेको भन्ने बारेमा थाहा पाएपछि सरितालाई खपी नसक्नुभयो । तत्काल बुबालाई गाडीमा हालेर भद्रपुर दौडिन् ।
उता लाससँगै बुधबारेबाट भद्रपुर गएका पुलिसहरू आफ्नै रनाहामा थिए । किनकि लास जिम्मा लगाउनुपर्ने मान्छे नै बेपत्ता भएकामा उनीहरुलाई चर्को चिन्ता थपिएको थियो । उनीहरूले भद्रपुर, चन्द्रगढी पूरै छान मारेका थिए । गाउँघरमा गएर खोज्दा पनि नभेट्टाएपछि उनीहरू रनभुल्ल परेका थिए ।
पत्रिकामा सूचना निकाल्ने कि भनेर सल्लाह भइरहेका बेला दाताराम सर छोरीको साथमा टुप्लुकिए ।
सरिताले बुबालाई भेटेदेखिका सम्पूर्ण कुरा पुलिसलाई बताइन् । अनि लास जिम्मा बुझेर माईखोला किनारमा पु¥याइन् । काजक्रियाका लागि एकजना ब्राह्मणको व्यवस्था गरी विधिपूर्वक सद्गति गराइन् । काजक्रिया–अवधिभर सब काम छाडेर हरेक दिन बुबालाई लिएर माईखोला किनारमा आइन् ।
काजक्रिया सकिएपछि दाताराम सर छोरीकहाँ ढुक्कै बस्न थाले ।
ती दिनहरूमा सरिताले सञ्चालन गरेको आश्रम विस्तारको क्रममा थियो । सडकमा भेटिने बेसहारा तथा टुहुरा बालबालिकाको संरक्षरण र शिक्षादीक्षाका लागि उनले गरेको प्रयासको सर्वत्र प्रशंसा हुन थालेको थियो । उदार मन भएका दाताहरू ओइरिएका थिए । सरितालाई भ्याइनभ्याइ भइरहेको थियो ।
आश्रमको व्यवस्थापन सम्हालिने दिने भरपर्दो सहयोगीका लागि छटपटाइरहेका बेला उनले आफ्नो धर्मबुबालाई फेला पारेकी थिइन् । ढुङ्गा खोज्दा साक्षात् देउताको दर्शन भएजस्तो । उनको मनमा त खुसीको कुनै सीमा नै थिएन ।
छोरीको साथमा बस्दै गएपछि दाताराम सरको पनि दिनचर्या फेरियो । बिस्तारै चङ्गा हुँदै गए । उनी बिहान–बेलुका आश्रमका केटाकेटीलाई पढाउँथे । दिउँसोचाहिँ अफिसको व्यवस्थापन सम्हाल्थे । आगन्तुक पाहुनाहरूसँग गफ गर्थे ।
आश्रमका केटाकेटीले उनलाई “हजुरबा” भनेर सम्बोधन गर्थे । पढाई नभएका बेला हरबखत केटाकेटीहरू उनीसँग झुम्मिइरहेका हुन्थे । साँझ परेपछि त झन् उनीसँग सुत्नका लागि केटाकेटीहरू बीच झगडा नै हुन्थ्यो । पछिपछि चैं उनले बच्चाहरूका लागि पालो बाँधिदिएका थिए ।
छुट्टीका दिन केटाकेटीलाई लिएर उनी नौलानौला ठाउँहरू घुमाउन लैजान्थे । किताबबाट भन्दा बढी ज्ञान बच्चाहरूले प्रकृतिसँगको साक्षत्कारबाट लिन सक्छन् भन्ने कुरालाई व्यवहारतः चरितार्थ गराउन खोज्थे ।
आश्रममा बस्न थालेको पाँच महिनापछिको कुरा । दाताराम सरले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पूर्ण जग्गा जमिन आश्रमको नाममा पास गरिदिए ।
त्यसको भोलिपल्ट सरिताले जिल्लाभरिका पत्रकारहरू बोलाएर आश्रममा पत्रकार सम्मेलन गरिन् । अनि आफ्ना बुबाले दिनुभएको जग्गामा आश्रमको स्थायी भवन, स्कूल, आत्मनिर्भरताका लागि गाईपालन र व्यावसायिक तरकारी खेती गर्न लागेको घोषणा गरिन् । “यो योजना कार्यान्वयन गर्न सक्यौं भने भोलिका दिनमा आश्रमले कसैसँग आश्रित भइराख्नुपर्दैन ।” आश्रमको अवधारणा पढ्दै उनले भनिन्– “यसका लागि तपाईंहरूको पनि साथ र सहयोगको खाँचो छ ।”
त्यो समाचार भोलिपल्टका पत्रपत्रिकामा प्राथमिकतासाथ छापियो । कतिपय रेडियो, टेलिभिजनका सञ्चारकर्मीले दाताराम सर, सरिता र आश्रमका बालबालिकाहरूको अन्तर्वार्तासमेत लिएर प्रसारण गरे ।
एउटा पत्रिकामा छापिएको तस्बिरसहितको समाचार पढेपछि जेठो छोरो सुधाकर भने आत्तियो । असिनपसिन भएको उसले तुरmन्तै भाइ सुनिललाई साउदीमा फोन गर्यो– “ए, तैंले एउटा कुरा थाहा पाइस् ? बुबाले हाम्रो अंशको सप्पै जग्गा एउटा कुन चैं हो आश्रमलाई पास गर्दिनुभएछ !”
“हँ ! के भन्छ यो ?” उसले दाजुका कुरा पत्याएन । उनीहरूबीच तँ–तँ चल्थ्यो । पहिल्यैदेखि ।
“विश्वास लागेन भने साझामञ्च डटकममा गएर हेर् त ।” दाजुले भाइलाई सल्लाह दियो ।
“ल ल, मैले हेरिहालेँ ।”
“हेरिसकेर तुरुन्तै फोन गर् है । अब हामीले तुरुन्तै डिसिजन लिनुपर्छ ।” दाजुचाहिँले भन्यो– “हाम्रो बिचल्ली पारेर बुबाले कहाँ त्यसो गर्न पाउनुहुन्छ ?”
समाचार पढिसकेपछि सुनिलले उताबाट दाजुलाई फोन गर्यो र भन्यो– “अब हामी कसरी अघि बढ्ने ?”
“रात रहे अग्राख पनि पलाउँछ भन्ने भनाई छ ।” दाजुले योजना सुनायो– “वकिलसँग सल्लाह गरेर हामीले बुवाविरुद्ध मुद्दा हालिहाल्नुपर्छ । मेरो विचारमा ३५ दिन कट्यो भने मुद्दा लाग्दैन होला । त्यसैले तँ सब काम छाडेर जतिसक्दो चाँडो आइज ।”
“होइन म भोलि नै हिँडिहाल्छु । कम्पनीसँग बिदा मागेर टिकट गर्न म अहिले नै निस्केँ ।” ऊ हतारियो ।
“कम्पनीमा के भनेर विदा माग्छस् ?” दाजु सल्लाह दिन खोज्यो ।
“के भन्नु ? बाउ मरे, काजक्रियालाई विदा चाहियो भन्छु नि ।” सुनिल रिसले क्रुद्ध हुँदै भन्यो– “हाम्रा लागि बाउ मरेकै बराबर त भयो नि । त्यस्ता बाउ भएको र नभएको के अर्थ ?”
(अविरलको नयाँ उपन्यास छलयुगबाट एउटा अंश)
Comments