Sajhamanch Archive

बा आकाश समानान्तर भएन कहिल्यै !

Published: in शिक्षा, by .

तिमीलाई चिने जुन दिनदेखि
म तिम्रा पाइला गनिरहेछु,
कहिले जानेर कहिले नजानेर,
स्वीकार है !
तिम्रो फुटेको कुर्कुच्चाले आधार दिएर
कोरिएका कयौँ सपनाका धर्काहरु
अझै गनिरहेछु
कहिल्यै अन्त्य नहुने गरी ।

नाम्लाको डोब तालुमा राखेर
उही आलेगौंडाको उकालो कयौँ पटक
स्वासमा गुना गरेर उक्लियौ तिमी।
कहिल्यै हिसाब टुङ्गिएन
न त समीकरण नै ।

घोडाको लगामसँगै
शरीरका थकानको मूल्यले
कयौँ पटक आमाका आँशुमा पर्दा खसाल्यौ ।
त्यही हिसाबका अंकहरू गिन्ती गर्दै
जोड्न अनन्त कोशिस गरिरहेँ ।

बा !
आकाश बदलिएन कहिल्यै !
समानान्तर पनि भएन कहिल्यै !
फेरिएनन् कहिल्यै ती ढाक्रे जीवन ।
उक्सिएनन् नाम्लोले थिचिएका डोबहरू !
बनेनन् कहिल्यै तिम्रा पसिनाका थोपा मोतीका बहार ।

तिमीले धुलौटे कोरेर छपाएका
यी किताबहरूमा
चुन ढुङ्गाले रगडिएका अक्षरहरु
हो बा !
औँलाका काप अझै स्मरण गरिरहन्छ ।
तिमीले रटाएका शब्दहरु ।

त्यसैले त
आज सीमान्तकृत
जीवनको हिसाब कोरिरहेछन्
यी औँलाहरु,
आमाका आँशुसँगै पोतिएका
ती मौन वाणीहरु ,
दाइजो मानेर
वर्षौसम्म बर्कोमा लपेटेर
पत्रपत्र कोट्याउँदै
किताबका
जिल्दा बनाउने अनन्त अभ्यास गरिरहेँ मैले ।

आज केही पाए ,
केही गुमाए जस्तो
मेरा पाइला कतै टेकिए जस्तो, कतै लर्बराए जस्तो
तिमीले थामेको आघार
खोजिरहेछन् ।
तिम्रा पाइला गनेर
डोबहरुको पहिचानसँग
नटुङ्गिएको समीकरण
बुझ्ने अनन्त अभ्यासमा
मेरा यी सुनौंला अक्षरहरु
समयसँग पौठेजोरी खेलिरहन्छन्।

बा !
तिम्रै काँधमा टेकेर
चिनेको संसारको कुनाबाट
शीर उठाएर गर्वसाथ आज तिमीलाई सम्झिरहेछु ।
गन्तब्य लम्ब्याउनु छ अझै
तिम्रा अनन्त इच्छाहरू पुरा गर्न !

हात्तीवन ललितपुर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *