पार्टी भित्र गुट उपगुट चल्दैनः प्रम ओली
Published:
by .काठमाडौ । प्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र गुट उपगुट नचल्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले नेकपाको ३ नं प्रदेश कमिटीका पदाधिकारीहरुको सपथ ग्रहण तथा प्रथम बैठकलाई सम्बोधनका क्रममा यो सरकारले कसैलाई पनि काखा र पाखा नगर्ने स्पष्ट पारे । “दुई पार्टीको एकताको अर्थ यो हो कि हामीमा गुट उपगुट छैनन् ” प्रधानमन्त्री ओलीले भने, “हामी बैचारिक रुपमा स्पष्ट र सांगठनिक रुपमा बलियो पार्टी हौं । त्यसैले यहाँ अन्तकुन्तरबाट गुट सञ्चालन गरेर पार्टीलाई कमजोर र कार्यकर्तालाई अन्यौल पार्ने काम कसैले पनि गर्नु हुदैन । पार्टी कमजोर हुँदा नेताहरु कोही जेलमा थियौं ,कोही भूमिगत अवस्थामा थियौं तर सवल हुँदा हामी सरकारमा छौं । त्यसकारण पार्टीलाई एकतावद्ध बनाएर लैजानु पर्ने प्रधानमन्त्रीको भनाई थियो ।
प्रधानमन्त्री ओलीले नेकपाको एकता भवितव्य नभएको बताए । लामो बहस, छलफल र देशप्रतिको जिम्मेवारीका कारण पार्टी एकता सम्भव भएको प्रधानमन्त्री ओलीको भनाई छ । “नेकपा भवितव्य भएर ठुलो पार्टी भएको होइन, पानी बर्षे जसरी बहुमत बर्षेको होइन” प्रधानमन्त्री ओलीले भने, “यसमा जनताको विश्वास, पार्टीको दृष्टिकोण र देश बनाउने प्रतिवद्धतालाई जनताले अनुमोदन गरेका हुन् ।”
वर्तमान सरकारलाई कम्यूनिष्ट नेतृत्वको मात्र नभई कम्यूनिष्ट पार्टीको सरकार भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “विगतमा हामीले कम्यूनिष्ट नेतृत्वको सरकार मात्र बनाउन सक्यौं तर अहिले नेतत्व मात्र होइन सरकार नै कम्यूनिष्ट पार्टीको छ । त्यस कारण हामीले चुनावमा गरेको प्रतिवद्धता अनुसार जनताको पक्षमा काम गर्छौं ।”
प्रधानमन्त्री ओलीले पार्टी एकताका कारण कतिपय क्षमतावान कार्यकर्ताहरुले जिम्मेवारी नपाए पनि धैर्य गर्न सुझाउनु भएको छ । “पार्टी एकताका कारण कतिपय सक्षम नेता कार्यकर्ताहरुलाई पनि जिम्मेवारी दिन सकिएको छैन” प्रधानमन्त्री ओलीले भने, “पानीले आफ्नो आकार आफैं ग्रहण गरे जस्तै सक्षम कार्यकर्ताहरुले पार्टीमा आफैं स्थान आफैं बनाउन हुनेछ । निराश नहुनुहोस । कामलाई निरन्तरता दिनुहोस उनले भने ।
प्रधानमन्त्री ओलीले पार्टी एकताको काममा केही ढिलाइ भए पनि अब प्रतिक्षाको घडी सकिएको बताए । “पार्टी एकताका लागि केही बिलम्ब भएकै हो ” प्रधानमन्त्री ओलीले भने “तर अब प्रतिक्षाको घडी सकिएको छ । चाँडै तल्ला तहका कमिटीको एकताले पनि पूर्णता पाउनेछ ।”
Comments