भद्रपुर पूर्ण सरसफाइको चरणमा प्रवेश
Published:
by .भद्रपुर । खुला दिसामुक्त नगरपालिका घोषणा भएको चार महिनापछि भद्रपुर नगरपालिका पूर्ण सरसफाइको चरणमा प्रवेश गरेको छ ।
२०७५ लाई पूर्ण सरसफाइको शुरुवाती वर्ष बनाउने सरकारी योजना कार्यान्वयन गर्नेक्रममा भद्रपुरमा पूर्ण सरसफाइका क्रियाकलाप शुरु गरिएको हो । यो वर्षको मंसिर अन्तिमममा मात्र नगरपालिका खुला दिसामुक्त भएका कारण पूर्ण सरसफाइका क्रियाकलाप पनि केही ढिलो सञ्चालन भएको छ ।
‘खुला दिसामुक्त अभियानको उपलब्धिलाई जोगाउँदै सरसफाइसम्बन्धी सचेतनामूलक क्रियाकलाप गर्न आवश्यक देखिएको छ’, नगरप्रमुख जीवनकुमार श्रेष्ठ भन्छन्– ‘नगरपालिकाले पहिलो चरणमा साझेदार संस्थाको सहयोगमा सचेतनाका कार्यक्रम सञ्चालनलाई अघि बढाइसकेको छ ।”
यसैक्रममा साझेदार संस्था क्लिन झापाले सरसफाइसम्बन्धी सचेतामूलक कार्यक्रमको शुरु गरेको छ । सोमबार भद्रपुरको चारवटा वडाका जनप्रतिनिधि र सरोकारवाला प्रतिनिधिका बीच पानी तथा फोहोरजन्य रोगहरुका बारे समुदायको भूमिका विषयमा क्लिन झापाले अन्तरक्रिया गरेको छ ।
क्लिन झापाका सदस्य तथा सरसफाइ अभियानकर्मी रुद्रबहादुर न्यौपानेले सरसफाइ र स्वच्छताको अवधारणा, शौचारय एक, फाइदा अनेक शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै सरसफाइलाई जीवनशैली बनाउन आग्रह गरे । उनले पानी र फोहारका कारण समाजमा विभिन्न किसिमका महामारी फैलने र त्यसबाट जनधनको क्षतिसमेत व्यहोर्नुपर्ने अवस्था आउने हुँदा सरसफाइ बारे प्रत्येक व्यक्ति सचेत हुनुपर्ने बताए ।
क्लिन झापाकी अध्यक्ष शान्ती उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा खुला दिसामुक्तपछिको घरायसी तथा संस्थागत शौचालयहरुको अवस्था बारे अनुगमन गर्न सहभागीहरुलाई सुझाव दिइएको थियो भने घर, टोल, नगर सफा राख्न गर्नुपर्ने क्रियाकलापका बारे जानकारी गराइएको थियो ।
सहभागीहरुलाई नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठलगायतले भद्रपुरको पूर्ण सरसफाइको अभियानलाई सार्थक तुल्याउन जनप्रतिनिधि, सरोकारवाला संघ–संस्था तथा नगरवासी जुट्नुपर्ने बताए ।
क्लिन झापाका सदस्य बाबुराम कार्कीले स्वागत गरेको कार्यक्रममा भद्रपुर नगरपालिका सामाजिक विकास शाखा प्रमुख राजन न्यौपानेसमेतले सहजीकरण गरेका थिए । कार्यक्रममा भद्रपुर वडा नं ७, ८, ९ र १० को सहभागिता थियो । यही कार्यक्रम २९ गते वडा नं ४ को नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको प्रशिक्षण हल र बैशाख ६ गते वडा नं १ को सोमबारेमा गरिने सहजकर्ता न्यौपानेले जानकारी दिए ।
Comments