Sajhamanch Archive

इटहरीमा प्रदेशकै ठूलो डेरी उद्योग सञ्चालनमा आउने

Published: in राष्ट्रिय समाचार by .

मेचीनगर । दुग्ध सहकारी संस्था तथा उद्यमीहरुसँगको साझेदारीमा प्रदेश नं १ कै ठूलो मिल्क पाउडर प्लान्ट उद्योग सञ्चालनमा आउने भएको छ ।

आगामी २०७७ सालदेखि सञ्चालनमा आउने गरी प्रदेश सरकार तथा डेरी उद्योगी र सहकारी संस्थाको संयुक्त लगानीमा इटहरी उपमहानगर पालिका—१, आपगाछीमा उद्योग स्थापना गरिएको छ ।

सगरमाथा मिल्क पाउडर प्लान्ट नाम दिइएको उद्योगले दुई वर्षपछि किसानबाट उचित मूल्यमा दुध खरिद गरी मिल्क होलिडे अन्त्य गर्ने लक्ष्य राखेको नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्य राजन चिमरियाले जानकारी दिए । उनका अनुसार स्थापना गरिएको उद्योगबाट धुलो दूभ उत्पादन गरी आन्तरिक बजारमै खपत गरिनेछ । उद्योग सञ्चालन गर्न प्रदेश नम्बर १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको २१ करोड तथा डेरी उद्योगी, सहकारी र निजी डेरी उद्योगको १० करोड रुपैयाँ लगानी रहेको छ ।

उद्योग सञ्चालन गर्नका लागि प्रथम पक्ष र दोस्रो पक्षबीच सम्झौता भएको छ । प्रथम पक्षबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले हस्ताक्षर गरेका छन् भने दोस्रो पक्षबाट कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष बावुराम खत्री, सगरमाथा एकीकृत दुग्ध उद्योग प्रवर्धन केन्द्रका अध्यक्ष योगेन्द्र चिमरिया र जीवन विकास डेरी प्रोक्ट्स प्रालिका अध्यक्ष दीपेश खतिवडाले हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्र अनुसार कामधेनुको ४५ प्रतिशत, सगरमाथाको ४५ प्रतिशत र जीवन विकासको १० प्रतिशत लगानी रहने छ । त्यस्तै, कामधेनु दुग्ध विकास सहकारी संस्थाको स्वामित्वमा रहेको जग्गामा परियोजना अन्तर्गत कार्यहरु २०७५—०७६ मा सुरु गरी आव २०७६—०७७ मा सम्पन्न गरेर धुलो दूधको नियमित उत्पादन गरिने उल्लेख छ । कामधेनुको दुई विगाहा जग्गामा अहिले प्लान्ट उद्योगको भवन बनाउने काम भइरहेको छ ।

प्लान्ट उद्योग सञ्चालनमा लागि भौतिक संरचना निर्माण, मेसिनरी तथा उपकरण खरिद, ल्याब, कोल्ड रुम, ट्रान्सफर्मर, विद्युतीकरण, प्याकेजिङ, ट्रान्सपोर्टेसन, भन्सार शुल्क, विमा शुल्क, प्राविधिक परामर्श लगायतका शीर्षकमा प्रदेश सरकारले अनुदान गर्ने सहमति धएको छ ।

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शेरधन राई, प्रदेश सचिव लगायत डेरी उद्योगीहरुको उपस्थिति रहेको थियो । प्लान्ट सञ्चालन गर्नका लागि दुवै पक्षबीच २४ बुँदामा सहमति भएको सगरमाथा एकीकृत दुग्ध उद्योग प्रवर्धन केन्द्र प्रालिका अध्यक्ष योगेन्द्र चिमरियाले जानकारी दिए ।

प्रदेश नम्बर एकमा चाहिने भन्दा पनि बढी दुध उत्पादन भइरहेको छ । दुध विक्री नहुँदा किसानहरुले बेला—बेला सडकमा दूध पोखेर आन्दोलन गर्नु पर्ने बाध्यता छ । तर, प्लान्ट सञ्चालनमा आएपछि किसानका दूध खेर नजाने डेरी एसोसिएसनका उपाध्यक्ष राजन चिमरियाले बताए । “अहिले हाम्रो प्रदेशमा १२९ प्रतिशत दूध चाहिने भन्दा बढी उत्पादन हुने गरेको छ, “खेर गइरहेको दूधको उचित व्यवस्थापन गर्न प्रदेश सरकार, डेरी उद्योग, सहकारी र निजी डेरी सञ्चालकहरु लागि परेका छौँ । अब मिल्क होलिडे सदाका लागि अन्त्य हुनेछ ।”

उनले प्लान्टबाट उत्पादित धुलो दूध आन्तरिक बजारमै खपत गर्न सकिने बताए । उपाध्यक्ष चिमरियाले किसानका समस्या पहिचान गरेर अनुदान दिनेसम्मका योजनाहरु ल्याउन आफूहरु लागि परेको समेत बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *