एनएमसीमा उत्कृष्ट सदस्य र ऋणी सम्मानित
Published:
by .काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगत काँकरभिट्टा कार्यालयको आयोजनामा संस्थाका उत्कृष्ट सदस्य र उत्कृष्ट ऋणीहरु सम्मानित भएका छन् । मंगलबार संस्थाको काँकरभिट्टास्थित प्रधान कार्यालयको सभाहलमा सम्पन्न सदस्य शिक्षा कार्यक्रममा उक्त सम्मान गरिएको हो ।
संस्थासँग लगातार बचत तथा ऋणको कारोबार गर्दै आएका सदस्यहरुलाई संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, संस्था अन्तर्गतका विषयगत समिति, कार्यालयगत समिति, एकाई समितिका पदाधिकारीहरुले उनीहरुलाई सम्मानित गरेका हुन् ।
काँकरभिट्टा कार्यालयबाट सम्मानित हुने सदस्यहरुमा कमलाकुमारी ठाकुर, सनिजा बेगम, ज्ञानु लामा, मन्दिरा उप्रेती, लवराज सापकोटा र गोपालचन्द्र बोहोरा रहेका छन् । उनीहरुलाई खादा र अबिर लगाएर प्रमाणपत्र प्रदान गरिएको हो । यसैगरी संस्थासँग असल ऋणको कारोबार गर्दै आएका ५० जनाभन्दा बढी ऋणी सदस्यलाई पनि सो अवसरमा सम्मानित गरिएको छ ।
कार्यक्रममा संस्थाद्वारा आयोजित असल खानपिन र स्वस्थ जीवन विषयमा अध्यक्ष रामचन्द्र उप्रेतीले सहजीकरण गर्दै एनएमसीले सदस्यसँग वित्तीय कारोबार मात्र नगरी सदस्यको जीवनस्तरमा सकारात्मक परिवर्तनका लागि ल्याएका कार्यक्रमहरु बारे चर्चा गरेका थिए ।
सदस्यको सामाजिक तथा आर्थिक जीवनयापनमा सुधारका लागि संस्थाले विभिन्न प्रकारका अभियान र कार्यक्रमलाई अघि सारेको बताउँदै अध्यक्ष उप्रेतीले एनएमसीले डेरी उद्योगका साथै भर्खरै सुरु गरेको एकीकृत नमूना कृषि परियोजना र सुरु हुन लागेको एनएमसी उपभोक्ता भण्डारका बारेमा पनि सहजीकरण गरेका थिए ।
कार्यक्रमको सञ्चालन एनएमसी काँकरभिट्टा कार्यालयका प्रमुख कमलप्रसाद कट्टेलले गरेका थिए ।
Comments