श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु
Published:
by .बुटवल। अर्घाखाँचीको शीतगंगा नगरपालिकामा श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु भएको छ।
श्रीमानको कुटाईबाट शीतगंगा नगरपालिका–१ सुवर्णखालको मन्द्रे घर्तीसारा निवासी ३४ वर्षीया वसन्ता खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ।
यही जेठ २० गते अत्याधिक मदिरा सेवन गरेका मृतकका श्रीमान ३५ वर्षीय बिष्णु खत्रीले सामान्य झगडा हुँदा रिसको झोकमा श्रीमतीको मुखमा हानेर घरको झ्यालमा टाउको ठोक्काई दिएका थिए। टाउको ठोक्किएर नाककानबाट रगत बगेर मृत्यु भएपछि मृतकका माईती पक्षले प्रहरीमा उजुरी दिएका थिए।
घटनाबारे थाहा पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। सो क्रममा विष्णुले श्रीमती घरकै दलिनमा झुन्डिएर मृत्यु भएको भनि मृतकको घाँटीमा पासो देखाउँदै आफूले बचाउन पासो काटिदिएको प्रहरीलाई झुठो कुरा बताएका थिए।
सदरमुकाममा रहेको जिल्ला अस्पतालमा शवको पोस्टमार्टमको रिपोर्टले कुटपिटबाटै मृत्यु भएको देखाएपछि प्रहरीले सोधपुछ गर्दा उनले घटनाको वास्तविकता बताएको प्रहरीले जनाएको छ। आफूले कुटपिट गरेर मृत्यु भएपछि घाँटीमा पासो लगाईदिएको उनले स्वीकार गरेका छन्।
आफूले मुक्काले हानेर झ्यालमा टाउको ठोक्काउँदा नाक कानबाट रगत बगेर श्रीमतीको मृत्यु भएको उनले स्वीकार गरेका हुन्। अहिले जिल्ला अदालतबाट म्याद थप गरि अभियुक्त थुनामा रहेका छन्।
Comments