समुदायसँगको सहकार्यमा सीसी क्यामरा जडान
Published: (Updated: )
by .काठमाडौं । महानगरीय प्रहरी वृत्त, बानेश्वरले समुदायसँग सहकार्य गरेर ७४ वटा सीसी क्यामरा जडान गरेको छ ।
अपराध अनुसन्धानमा सहयोग पुग्ने उद्देश्यले समुदायबाट ३७ लाख ३५ हजार रुपैयाँ संकलन गरेर सीसी क्यामरा जडान गरिएको हो ।
वृत्तका प्रमुख डीएसपी गोविन्दराज काफ्लेको अगुवाइमा सुरक्षित नागरिक समाज, सामुदायिक विकास समिति, एकीकृत उपभोक्ता संघ लगायतको आर्थिक सहायतामा राखिएको क्यामराको सोमबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उद्घाटन गरे ।
सीसी क्यामरा जडानपछि समाजसँग भिजेर बसेको प्रहरीले अपराधको सफल अनुसन्धान गर्न सक्ने खरेलले बताए ।
खरेलले भने, ‘सीसी टीभीमार्फत प्रहरीलाई अपराध अनुसन्धान गर्न सहज हुने तथा सुरक्षित समाज निर्माणमा थप सहयोग पुग्ने विश्वास लिएको छु ।’ अपराध र अपराधी समाजकै वरिपरि रहने बताउँदै उनले भने, ‘अपराध अनुसन्धानका क्रममा प्रहरीलाई समुदायको सहयोगी भूमिका हुन जरुरी छ ।
सोही अवसरमा महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी सरुवा भएर जान लागेका डीएसपी काफ्लेलाई समुदायका तर्फबाट सम्मान पत्र पनि प्रदान गरिएको थियो ।
काफ्लेकै कार्यकालमा काँडाघारीमा ११ लाख रुपैयाँको लागतमा १८ वटा र प्रहरी कार्यालय आसपास ४ वटा सीसी क्यामरा जडान भइसकेको छ ।
Comments