मोरङ व्यापार संघका पदाधिकारीद्धारा पदभार ग्रहण
Published:
by .विराटनगर । मोरङ व्यापार संघको ३२ औं कार्यकारिणी समितिको निर्वाचनबाट विजयी पदाधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् ।
समितिका अध्यक्ष प्रकाश मुन्दडासहितका पदाधिकारीले एक कार्यक्रमबीच संघको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दे नवनिर्वाचित अध्यक्ष प्रकाश मुन्दडाले ऐतिहासिक औद्योगिक नगरी विराटनगरमा औद्योगिक ग्रामलगायत औद्योगिक संरचनाहरुको स्थापना गराउने, प्रादेशिक औद्योगिक प्रदर्शनी स्थल, विराटनगर रिङरोड निर्माणमा गति दिन सरकारलाई दबाब दिने, एकीकृत भन्सार बिन्दुको निर्माण एवम् सञ्चालन गराउन पहल गर्ने, स्वदेशी उत्पादन हाम्रो प्राथमिकता मूल नाराका साथ स्वदेशी उत्पादनहरुको संरक्षण र प्रवद्र्धनका लागि काम गर्ने बताए ।
उनले भने, ‘‘उर्जा आपूर्तिलाई थप सुधारका लागि सम्बन्धित निकायमा पहल गर्ने र पर्यटन वर्ष २०२० लाई भव्यताका साथ सफल बनाउने काममा सम्बन्धित निकायसँग समेत समन्वय गरिने छ । ’’उनले वृक्षारोपण अभियान २०२० लाई आत्मसात् गर्दै १० हजार वृक्षारोपण गरी विराटनगरलाई ग्रिनसिटी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
वरिष्ठ उपाध्यक्षमा नविन रिजाल, वाणिज्य उपाध्यक्षमा विकास बेगवानी, उद्योग उपाध्यक्षमा अनुपम राठी, महासचिवमा अनिल साह र सचिवमा अनिल सारडाले पदभार ग्रहण गरेका छन् । यस्तै उद्योगतर्फका सदस्यहरुमा दीपेश सुवेदी, आशिष जाजू, पवन राठी, सुनिल टिवडेवालले पदभार ग्रहण गरेका छन ।
त्यस्तै वाणिज्यतर्फ अनिलकुमार साह, मनीषकुमार मारु, राजेशकुमार अग्रवाल, देवाशीष गोल्छा, विनित सिंघानीया, सुशील सुराना छन् ।
कार्यक्रममा पूर्वअध्यक्षहरु ताराचन्द खेतान, नन्दकिशोर राठी ,खेमचन्द्र लालवानी, शंकरलाल अग्रवाल, जीवन नेपाल, महेश जाजु, पवन सारडा लगायतले उद्योग तथा व्यापारको सामूहिक हितका लागि नयाँ नेतृत्व उदारहणीय काम गर्न सकोस् भन्दै सफलताको सुभकामना दिएका थिए । नयाँ कार्यसमितिको पदावधि २ वर्षको हुनेछ ।
Comments