भारतका उद्दार केन्द्रमा रहेका नेपाली बालबालिका कसरी नेपाल फर्काउने ?
Published:
by .काँकरभिट्टा । भारतका विभिन्न उद्दार केन्द्रमा राखिएका नेपालका बालबालिकालाई सहजरुपमा नेपाल फर्काउने वातावरण तयार गर्न त्यस क्षेत्रमा क्रियाशील गैर सरकारी संघ–संस्थाले आग्रह गरेका छन् ।
चेलीवेटी तथा बालबालिका बेचविखन बिरुद्घ काम गदैं आएको भारतको सिलगडीस्थित कञ्चनजंघा उद्दार केन्द्र, कलकत्ताको सनलप आदि संघ–संस्थाले नेपालको माइती नेपालको व्यवस्थापनमा काँकरभिट्टा मंगलबार छलफल गरी यस्तो आग्रह गरेका हुन् ।
झापाका सुरक्षा निकायका उच्च अधिकारीहरुसँग भएको छलफलमा सनलप संस्थाका ताप्ती भौमिकले धेरै नेपाली बालबालिकालाई बेचबेखिनबाट समयमै जोगाए पनि स्वदेश फर्काउन भने नसकेको धारणा राखिन । उद्दार गरिसकेका बालबालिकालाई भारतबाट नेपाल फर्काउन धेरै समय लाग्ने भएकोले भारतीय सरकारी अधिकारीहरुसँग छलफल गर्न उनको आग्रह छ ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले यो समस्या स्थानीय स्तरबाट भन्दा पनि दुई देशका सरकारबीच छलफल गरी सरल र सहज बनाउनुपर्ने बताए । उनले बैठक अन्तरक्रिया र छलफलमा अल्मलिनुभन्दा परिणाममुखी काम गर्न सुझाव दिए ।
उपप्रमुख मीना पोखरेल उप्रेतीले स्थानीय सरकारको हैसियतले प्रदेश र संघीय सरकारसँग समेत यसका लागि आवश्यक छलफल गर्ने बताईन् । झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले नेपाल प्रहरीले यसका लागि गर्नुपर्ने सहयोगमा सधैभर सकरात्मक रहेको बताए ।
जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले कानुनभन्दा बाहिर नगई विदेशमा रहेका यस्ता बालबालिकालाई कसरी सजिलै नेपाल फर्काउन सकिन्छ त्यस विषयमा नेपाल र भारततर्फका गृह मन्त्रालयको भूमिका ठूलो हुने बताए ।
माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले सञ्चालन गरेको छलफलमा सिलगडीस्थित कञ्चनजंघा उद्दार केन्द्रका प्रमुख प्रभात पाठकले धन्यवाद ज्ञापन गरेका थिए ।
Comments