Sajhamanch Archive

लघुकथाः आतङ्क

Published: in शिक्षा, by .

आज रमाइलो साँझ । सँधै झैं सेकुवा कर्नरको सेक्रेट प्राइभेट क्याविन । छ जना बैंकर अर्थात् ट्याङ्कर । सबका अगाडि झोलिलो सेकुवा साथमा केही बोत्तलहरु । केही रित्ता केही भरि । बिन्दास बसेको २ घण्टा भइसको । शर्त थियो १ घण्टाको । न कोही उठ्नेवाला छ, न त कोही उठाउनेवाला ।

साँझले रातको रुप लिन सुरु गरेपछि प्रवेश बोल्यो, ‘बुढीको फोन आउने बेला भो’ एकाएक सबै आतङ्कित । रुपक बोल्यो, ‘आज बुढी आतङ्कसँग कोही डराउँदैन, सबले हाकाहाकी कुरा गर्ने । हाम्रो जिन्दगी, हाम्रो रहर चाहिँ काठको हो ?’ सबै सहमत ।

पहिलो फोन मेरी मायालुको । सबैको साथ र थर्काउने आदेश । म नतमस्तक । फोन उठाएँ ।

‘बाबा कता हुनुहुन्छ ?’ मायालुको प्रश्न ।

‘म साथीहरुसँग रमाइलो गर्दैछु, एकछिन ढिला हुन्छ है, खाना खाँदै गर्नु।’ सिधा उत्तर ।

‘ला !, बरु यतै ल्याएर खानुभएको भए हुन्थ्यो नि। तपाईं नभए हामीलाई खानै रुच्दैन। बाबा आएपछि सुत्छु भन्दैछे नानी पनि।’ मायालुको हल्का इमोसनल ब्ल्याकमेल।

‘हस्, छिट्टै आइहाल्छु’ ह्याङ्आउट ।

मैले आत्मसमर्पण गरेको ठहरियो। त्यसबापत मेरो तर्फबाट एउटा भ्याट ६९ साथीहरुले दामासाहीले उपभोग गर्ने निर्णय।

दोश्रो फोन बज्यो प्रवेशको। प्रवेश हल्का लोभी। अरुले पिलाए ट्याङ्कर हान्ने, आँफै तिरेर दशैँमा पनि क्वाटर हानेर बस्ने। प्रवेश कारबाहीमा पर्न चाहेन। फोन रिसिभ।

‘हेलो’ यति कडा स्वर, कि ग्लासको झोल तर्सियो।

उताबाट खै के आयो, प्रवेश कड्कियो, ‘बुढाको इज्जत गर्न जान्दिनस् ? म जतिबेला आउँ मेरो मर्जी, मेरो घरमा आजदेखि तेरो हैकम चल्दैन, फोन राख्’ कट् ।

प्रवेशको प्रशंसा । सम्मान स्वरुप एक पेग थपियो प्रवेशको ग्लासमा। नलागुन्जेल सबै बैंकर, मनेजर, सभ्य, शान्त, सुशील, भद्र। लागेपछि डन ।

फोन बज्यो रुपकको। दुई छोराछोरीको बाऊ। भव्य पिउने । मित्रता पनि भव्य, रक्सीको नेटवर्क नै ठूलो। कल रिसिभ।

‘म साथीहरुसँग बिजी छु, राती १२ बजे अगाडि आउनेवाला छैन, एक शब्द पनि बोल्नु पर्दैन, तेरो सब डाइलग मैले पहिल्यै सुनिसकेको छु, फोन राख्’ कट् ।

रुपकको प्रशंसा, अर्को पेग थपियो ग्लासमा।

म हल्का ट्रिपमा पुगिसकेको अवस्था। अरुको फोन आउने क्रम जारी। प्रशंसा जारी । थप्ने क्रम जारी ।

मेरो फोनमा रुपकको बुबाको फोन आयो। उसलाई नभनी सुटुक्कै उठाएँ। सबैका आँखा मतिर। मैले बहादुरी नदेखाए अर्को फूल आउने आशा।

‘हेल्लो’ ‘नवीन सर, रुपक तपाईंसँगै होला। बाबाको बाटो हेर्दै नातिनी रोडमा पुगिछे। हात्तीले कुल्चेर भाग्यो। लौ न तेस्लाई याँ ल्याइदिनु पर्यो ।’

मेरो आँखाबाट आँसु खसेको देखेर अर्को फुल आउने आशमा भर्खरै हात्तीले कुल्चेकी बच्चीको बाऊ खुसीले नाच्दैथियो ।

(कसैको वास्तविक जीवनसँग मेल खाएमा संयोगमात्र हुनेछ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *