ताइवानमा पनि शाक्तिशाली भूकम्प
Published:
by .ताइपेई । ताइवानमा बिहीबार आएको ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण एक महिलाको मृत्यु हुनुका साथै हजारौं घरमा विद्युत आपूर्ति प्रभावित भएको छ ।
बिहीबार बिहानै आएको भूकम्पबाट त्रसित मानिसहरु ताइपेईका सडकमा आएका थिए । घरभित्रको सामानले थिचेर एक ६० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताइपेई र छिमेकी यिलानका १० हजारभन्दा बढी घरको विद्युत आपूर्ति बन्द भएको थियो । केही क्षेत्रको रेलसेवा पनि अबरुद्ध भएको थियो । ताइवानमा लेकिमा नामको आँधी पनि नजिकै आइपुगेको मौसम विज्ञान विभागले जनाएको छ ।
गत अप्रिलमा ताइवानको पूर्वी हुवालिनलाई केन्द्र बनाएर ६.१ म्याग्नीच्यूडको भूकम्प गएको थियो । सन् १९९९ मा आएको ७.६ म्याग्नीच्यूडको भूकम्पबाट करिब दुई हजार ४०० जनाको मृत्यु भएको थियो । दुईवटा टेक्टोनिक प्लेटमा रहेको ताइवानमा भूकम्प बारम्बार आइरहने गर्दछ । –एएफपी
Comments