Sajhamanch Archive

ढलको पानीले राजधानीबाट निकालिँदै ५२० किलोवाट बिजुली

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । काठमाडौंबासीको घरबाट निस्कने ढलको पानीबाट बिजुली निकालिने भएको छ। ढलको पानीलाई संकलन गरी शुद्धीकरणपछि बिजुली निकाल्ने तयारी गरिएको हो।

यसअघि घरबाट निस्केको फोहोर र ढलको पानी उपत्यकाका विष्णुमती, वागमती, धोबी खोलामा सिधै मिसाउने गरिन्थ्यो। राजधानीबासीको घरबाट निस्कने ढलको पानी प्रशोधन गरेर अब बिजुली निकालिने भएको छ। राजधानीका दुई स्थानबाट ५२० किलोवाट बराबरको बिजुली निकाल्ने तयारी थालिएको काठमाडौं उपत्यका खानेपानी आयोजनाले जनाएको छ। उपत्यकाको गुहेश्वरी र ललितपुरको धोबीघाटस्थित फोहोर पानी प्रशोधन केन्द्रबाट बिजुली निकाल्ने तयारी भइरहेको काठमाडौं उपत्यका खानेपानी आयोजनाअन्तर्गत फोहोर पानी व्यवस्थापन आयोजनाका प्रमुख सुरतकुमार बमले बताए। उनका अनुसार काठमाडौं उपत्यकामा दैनिका १८ देखि १९ करोड लिटर फोहोर पानी संकलन हुन्छ। बिजुली निकाल्न लागि तीन करोड लिटर पानी भए पर्याप्त हुन्छ। काठमाडौंको गुहेश्वरी केन्द्रबाट ३१० र धोबीघाट केन्द्रबाट २१० किलोवाट बिजुली उत्पादन गर्ने तयारी भइरहेको छ।

गुहेश्वरीको प्रशोधन केन्द्रको क्षमता बढाउनको लागि निर्माण कार्य भइरहेको बमले जानकारी दिए। गुहेश्वरी केन्द्र अन्य प्रशोधन केन्द्रभन्दा ठूलो भएको र क्षमता वृद्धि पनि बढी भएकोले त्यहाँबाट बढी वाट बिजुली निस्कने बमले बताए। गुहेश्वरी केन्द्रबाट दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानी प्रशोधन हुन्छ। गुहेश्वरी केन्द्रमा उच्च क्षमताको मेसिन जडान गरिएको छ। धोबीघाट केन्द्रले ७ करोड ४० लाख फोहोर पानी प्रशोधन गर्छ।  पहिलो चरणमा आधुनिक प्रविधिले फोहोर पानीको प्रशोधन र पानी पूर्णरूपमा सफा भइसकेपछि बिजुली निकाल्ने ट्रवाइनमा पानीको बहाव पठाइने बमले बताए। उनले भने, ‘बिजुली निकाल्न पानी सफा हुनैपर्छ।

पानी सफा भएपछि मात्रै पानी बिजुली निकाल्ने मोटरमा पानी पठाइन्छ।’ उनका अनुसार प्रशोधन केन्द्रमा छुट्टै प्रविधि छन्। दुवै प्रशोधन केन्द्र निर्माण प्रक्रियामा छन्। पानी प्रशोधन केन्द्रमा पानी प्रशोधन गर्ने प्रविधिसँगै बिजुली उत्पादन गर्ने प्रविधि जडान कार्य भइरहेकाले काममा केही ढिलो भएको उनले बताए।  उनले  काठमाडौं उपत्यकाको पानी प्रशोधन केन्द्रबाट दुई वर्षमा बिजुली निस्किने दावी गरे। निर्माण कम्पनी र व्यवस्थापक पक्ष दुवै गम्भीर भएमा बिजुली निकाल्न सकिने उनको धारणा थियो। प्रशोधन गरिएको पानी बिजुली निकालेपछि बागमतीमा पठाइने बमले जानकारी दिए। राजधानीबासीले अन्धाधुन्दा फोहोर गर्दा बागमती मृतप्राय: भइसकेको छ।

प्रशोधन गरेको पानीले बागमतीलाई पुनर्जीवन प्रदान गर्ने उनले विश्वाश व्यक्त गरे। उपत्यकाका बल्खु खोला, मनोहरा, विष्णुमती, हनुमन्ते र धोबीखोला आदि हुन्। प्रशोधन केन्द्र निर्माण भएपछि  बागमतीको पानी अझै संग्लिने विश्वास गरिएको छ। काठमाडौं बग्ने पानीलाई जति सफा गर्न सक्यो उति नै ऊर्जा निकाल्न सकिने ऊर्जा विज्ञहरूले सुझाएका छन्। पानीको मात्रालाई सफा गर्न सकेको खण्डमा फोहोर पानीबाट ऊर्जा प्रवाह गर्न सक्ने जलस्रोत विज्ञ रतन भण्डारीले बताए। काठमाडौंमा निस्कने फोहोर पानीको मात्रा धैरै भएकोले फोहोर पानीबाट बिजुली निकाल्न सकिन्छ। बिजुली निकाल्नको लागि मुख्य गरी ट्रवाइनको गति बढनु जरुरी हुन्छ।  उनले भने, ‘साना-साना लघु जलविद्युत् कम्पनी स्थापना गरेर चलाउन सकिन्छ। उपत्यका बाहिर पनि साना-साना लघु जलविद्युत्ले बिजुली उत्पादन गरिरहेका छन्।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *