Sajhamanch Archive

दमकमा प्राविधिक शिक्षालय सञ्चालनको तयारी

Published: in राष्ट्रिय समाचार by .

दमक । दमक नगरपालिकाले यसै वर्षदेखि प्राविधिक शिक्षालय सञ्चालनको तयारी शुरु गरेको छ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीइभिटी) को सम्बन्धनमा नगरपालिकाले शिक्षालय सञ्चालन गर्न लागेको हो।

शिक्षालयमा पहिलो वर्ष दुईवटा विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति प्राप्त भइसकेको नगरप्रमुख रोमनाथ ओलीले जानकारी दिए। उनले पालिकाले स्थानीयस्तरमानै रोजगार तथा व्यवसायिक शिक्षा सहज रुपमा उपलव्ध गराउन शिक्षालय सञ्चालन प्रक्रियालाई अघि बढाएको पनि बताए। स्थानीय स्तरमा आवश्यक पर्ने प्राविधिक जनशक्ति स्थानीय सरकारलेनै उत्पादन गर्ने लक्ष्य लिएर शिक्षालयलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइएको ओलीको भनाइ छ।

नगरपालिकाले सञ्चालन गर्ने प्राविधिक शिक्षालयमा अति बिपन्न र कम आयश्रोत भएकाले प्राथमिकता पाउने छन्। नगरप्रमुख ओलीले पहिलो वर्ष होटल म्यानेजमेन्ट र कम्प्युटर प्रविधिसम्बन्धी कक्षा सञ्चालन गर्ने नगरपालिकाको तयारी छ। उनले यसका लागि पूर्वाधार बनाउन केही समय लाग्ने भएकाले अल्पकालीन पूर्वाधार छनोट गरी शिक्षालय सञ्चालन गर्ने तयारी भइरहेको पनि बताए। दुई वटा विषयमा पहिलो वर्ष ८० जना भर्ना गर्ने लक्ष्य रहेको उनले बताए। जनप्रतिनिधिले कार्यभार सम्हालेलगत्तै नगरले प्राविधिक शिक्षालय सञ्चालनको योजना बनाएको थियो। यसका लागि लागि सम्भाव्यता अध्ययनसहित प्रतिवेदन पेश गर्न नगरपालिकाले हेमनाथ अधिकारीको संयोजकत्वमा कार्यदल बनाएको थियो।

कार्यदलको अध्ययन र सम्भाव्यताका आधारमा नगरपालिकाले शिक्षालय सञ्चालनलाई प्राथमिकता दिएको अधिकारीले बताएका छन्।  संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले यस अघि उपयोग गरेको दमकस्थित हम्सेदुम्से सामुदायिक वन नजिकैको संरचनालाई हाल शिक्षालयको संरचनाको रुपमा प्रयोग गर्ने नगरपालिकाको तयारी छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *