स्वदेश फर्किए प्रधानमन्त्री ओली : न सेनाको सलामी लिए, न स्वास्थ्यबारे जानकारी दिए
Published: (Updated: )
by .
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य उपचार गरी स्वदेश फर्केका छन् । आज थाई एयरवेजको जहाजबाट प्रधानमन्त्रीसहितको टोली स्वदेश फर्किएको हो ।
ओली सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । आफ्नो भ्रमण अनौपचारिक भन्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको सलामी ग्रहण भने गरेनन् ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चासो राख्दै ठूलो संख्यामा नेकपाका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सञ्चारकर्मी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका थिए ।
विमानस्थलको अति विशिष्ट कक्षमा भेला भएका सञ्चारकर्मीलाई प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया दिएनन् । प्रधानमन्त्रीको प्रतिक्रिया लिन पत्रकारहरु पनि प्रतीक्षा गरेर विमानस्थल पुगेका थिए । तर, प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्न मानेनन् । स्वास्थ्यबारे जानकारी माग्दा ओलीले भने, ‘केही दिनमा थाहा पाइहाल्नु हुन्छ नि !’
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका अन्य मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायत विमानस्थलमा पुगेका थिए ।
उनी अघिल्लो शनिबार फलोअप उपचारका लागि सिंगापुर गएका हुन् । उनको स्वास्थ्य अवस्थाका बारेमा सरकारी तहबाट कुनै औपचारिक जानकारी अहिलेसम्म गराइएको छैन ।
उनी गत शनिबार स्वदेश फर्किने कार्यक्रम भए पनि थप दुई दिन बसेर सोमबार मात्र स्वदेश फर्केका हुन् । प्रधानमन्त्री लामो समयदेखि मृगौलाको बिरामी हुन् । कामको धपेडीको कारण देखाउँदै उनका निजी चिकित्सक समूहले प्रधानमन्त्रीलाई जाँचको लागि सिंगापुर जान आग्रह गरेपछि उनी त्यसतर्फ गएका थिए ।
प्रधानमन्त्री राति १–२ बजेसम्म विभिन्न काममा व्यस्त हुने र बिहान पनि सबेरै उठ्ने भएकोले धपेडीका कारण उनलाई समस्या पर्न सक्ने चिकित्सक टोलीले यसअघि सुझाव दिएको थियो ।
सिंगापुर जानुभन्दा एक साताअघि उनको छाउनी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । रगत, दिसापिसाब, पेटको अल्ट्रासाउण्ड, बायोप्सीलगायतका परीक्षण सो अवसरमा गरिएको बताइएको थियो ।
दैनिक नेपालबाट ।
Comments