धेरै युवा विदेश पठाउनेमा झापा तेस्रो स्थानमा
Published:
by .
गत आर्थिक वर्षमा नेपालको धनुषा जिल्लाबाट सबैभन्दा धेरै व्यक्ति कामका लागि विदेश गएका छन् । एक वर्षमा यस जिल्लाका १३ हजार ७ सय २३ जना नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
अघिल्लो वर्षमा पनि धनुषा एक नम्बरमै थियो । आर्थिक वर्ष २०७५/७६ मा धनुषाबाट २२ हजार ५३३ युवा धनुषाबाट विदेश पुगेका थिए । यो वर्ष विदेशीनेको संख्या उल्लेख्य घटे पनि धनुषालाई कसैले उछिन्न सकेन ।
झापा जिल्ला पनि युवाहरुलाई स्वदेशमा टिकाउन नसक्नेमा अगाडि देखिएको छ । पूर्वको बढी विकास भएको मानिने जिल्ला झापाबाट १० हजार ९ सय २८ जना युवाहरु कामको खोजीमा विदेशिएका छन् । अघिल्लो वर्ष चौंथो स्थानमा रहेको झापाबाट १५ हजार ५११ जना वैदेशिक रोजगारीमा गएका थिए ।
नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाको संख्या आर्थिक वर्ष २०७५/७६ मा करिब ३३ प्रतिशतले घट्यो । त्यसैबमोजिम जिल्लागत संख्यामा पनि गिरावट आयो । तर, बढी युवा विदेश पठाउने १० जिल्लाको सुचीमा भने खासै फेरबदल आएको छैन । सुचीमा ९ वटा जिल्लाहरु पुरानै छन् ।
दशौं स्थानमा मात्रै नयाँ जिल्ला आइपुगेको वैदेशिक रोजगार विभागमा महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए ।बितेको वर्ष पनि दोस्रो स्थानमा सिरहा छ । आर्थिक वर्ष २०७५/७६ मा ११ हजार ५५६ जना सिरहाबाट वैदेशिक रोजगारीमा गए । अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा यो संख्या १७ हजार १७१ थियो ।
चौंथो स्थानमा पूर्वी तराईको मोरङ छ । मोरङबाट मात्रै एक वर्षमा ९ हजार २२७ युवा कामदार भिसा लिएर उडे । अघिल्लो वर्ष यो संख्या १३ हजार ८९३ थियो । सो वर्ष धेरै युवा विदेशिने जिल्लाको सूचीमा मोरङ पाँचौं स्थानमा थियो ।
Comments