Sajhamanch Archive

माछा मार्ने जालमा बेरिएर २ को मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

स्याङ्जा । स्याङ्जाको चापाकोट ५ काउरेस्थित ज्याग्दी खोलामा माछा मार्ने क्रममा गिलाङ का ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय नीरबहादुर आलेको ज्यान गएको छ। साँझको समयमा माछा मार्न गएका आले र थापाको माछा मार्न प्रयोग गरिने जालमा बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

विद्यालयमा पढाएर फर्केका आलेको बाटोमा वीरबहादुर र बमबहादुर थापासँग भेट भएपछि सँगै माछा मार्न जाने योजना बनाए।आले राममन्दिर माविका शिक्षक हुन् भने थापा द्वय किसान हुन्।

चापाकोट ५ का वडाध्यक्ष इन्द्र शाहीका अनुसार सोमबार साँझ उनीहरु ३ जना मिलेर ज्याग्दी खोलामा माछा मार्न गए। खोलामा पुगेपछि हातमा रहेको जाल फ्याक्ने क्रममा भेलले वीरबहादुर थापालाई पल्टायो र जालभित्र फसे। त्यसपछि थापालाई उद्धार गर्न गएका आले पनि सोही जालमा फसे।

उनले भने, ‘सँगै गएका बमबहादुरले गुहार मागेपछि हामी त्यहाँ पुग्यौं। पुग्दा दुबैजना एउटै जालभित्र मृत भेटिए।’ उनीहरु प्रायजसो ग्यादी खोलामा माछा मार्ने गरेको अध्यक्ष शाहीले बताए। आधाभन्दा बढी उमेर ज्याग्दीखोलामा बिताएका उनीहरुको अल्पायुको निधनले गिलाङ्बासी शोकमा छन्। आलेका श्रीमती ४ छोरी र १ छोरा छन् भने थापाका २ छोरी र ३ छोरा छन्।

मृतक आले र थापा दुबैको शव परीक्षणपछि मंगलबार आफन्तलाई बुझाइएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक इन्द्रप्रसाद चौधरीले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *