Sajhamanch Archive

मकैबारीमा आकस्मिक अवतरण गराएर जोगाइयो विमानका २२३ यात्रुको ज्यान

Published: in राष्ट्रिय समाचार, विविधा by .

मस्को । रुसको मस्कोमा चालक दलको सावधानीका कारण २२३ यात्रु बोकेको विमान सुरक्षित अवतरण गराइएको छ ।

मस्कोको जुकोभ्स्की विमानस्थल क्राइमियाको सिम्फेरोपोल जानका लागि उडेको जहाजमा टेक अफ गरेको केहीबेरमै चराको एक बगाल ठोकिएपछि चालकले मकैबारीमा विमान अवतरण गराएर यात्रुको ज्यान बचाएका हुन् । चरा ठोक्किएर जहाजका दुबै इन्जिनमा समस्या आएको थियो ।

प्लेन उड्ने बित्तिकै धेरै हल्लिन थालेको एक यात्रुले बताएका छन् । जहाजभित्रका बत्तीहरू निभेपछि यात्रुहरू आत्तिन थालेका थिए । तर। चालकले निकै संयमताका साथ जहाजलाई मकैबारीमा आपतकालीन अवतरण गराए ।

युराल एयरलायन्सको उक्त जहाजमा २२६ यात्रु र सात जना चालक दलका सदस्य थिए ।
विमानस्थलदेखि झण्डै १ किलोमिटर टाढाको मकैबारीमा जहाज सुरक्षित अवतरण भएको छ । उक्त घटनामा २३ यात्रु घाइते भएको रूसी अधिकारीले जनाएका छन् ।

जहाजबाट सबै यात्रुलाई बाहिर निकालिएको छ भने घाइतेलाई अस्पताल लगिएको थियो । घाइतेमध्ये ५ जना बालबालिका रहेको रूसी स्वास्थ्य मन्त्रालयले जनाएको छ । युराल एयरलायन्सले जहाजका पाइलट निकै अनुभवी भएकाले सफल अवतरण गर्न सकिएको जनाएको छ । नाम नखुलाइएका ती पाइलटले तीन हजार घण्टा उडान भरिसकेका छन् । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *