प्रदेश १ को नामाकरण छलफल र सहमतिबाटै गरौं !
Published:
by .कनकाई । आदिवासी जनजाति महासंघ झापा तथा विभिन्न जातीय संस्थाका प्रतिनिधिहरुले प्रदेश १ को नामाकरण गर्दा सबै पक्षको सहभागितामा सम्वाद र सहमतिबाट प्रदेशको नाम टुंगो लगाउन सुझाव दिएका छन् ।
आज सुरुङ्गामा भएको छलफलमा सहभागीहरुले प्रदेश १ को ऐतिहासिकता, भूगोल, भाषा, धर्म, पहिचान तथा आइएलओ १६९ ले दिएका अधिकारलाई मनन गरी सबैको सम्मान, पहिचान र अपनत्व हुने गरी सहमति जुटाउन प्रदेश सरकारलाई सुझाव दिएका हुन् । प्रदेशको नामकरण गर्दा संवैधानिक व्यवस्था बमोजिम विभिन्न जाति र समुदाय विशेषको संरक्षित विशेष र स्वायत्त क्षेत्र प्रदान गर्ने गरी नामकरण गर्न पनि उनीहरुले सुझाएका छन् ।
छलफलका क्रममा सहभागीले प्रदेश नं. १ को नामाकरण गर्दा थुप्रै विकल्पहरु रहेकाल सहभागितामूलक सम्वाद तथा शान्तिपूर्ण मार्गबाट अधिकतम् सहमतिमा निकास निकाल्नुपर्नेमा उनीहरुको विशेष जोड थियो ।
संवाद समूह झापाले संयोजन गरेको छलफलमा महासंघका अध्यक्ष भरतकुमार श्रेष्ठ, उपाध्यक्ष पाण्डवलाल चौधरी, मेघराज थामी, सचिव वीरेन मेचे, सहसचिव रोहित खवास, महेन्द्र राना मगरले प्रदेशको नामकरण गर्दा एकले अर्काको पहिचान र अस्तित्वको सम्मान गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
त्यस्तै आदिवासी जनजाति महिला महासंघका उपाध्यक्ष अग्निमाया मेचे, नेपाल तामाङ, घेदुङका अध्यक्ष काजीमान घिसिङ, प्रदेश सदस्य पदमबहादुर तामाङ, नेवाः देय दबूका उपाध्यक्ष रत्नकुमार श्रेष्ठ, किरात याक्थुम चुम्लुङका अध्यक्ष भक्त खेवाङले सुझाव राखेका थिए ।
छदफलमा राजवंशी समाज विकास समितिका अध्यक्ष पुकारचन्द्र राजवंशी, तमू ह्यूल छोंज धिका सचिव उदय गुरुङ, नेपाल मगर संघका अध्यक्ष जगतबहादुर मगर, सुनुवार सेवा समाजका अध्यक्ष अवीरबहादुर सुनुवार, थारु कल्याण कारिणी समितिका अध्यक्ष पुष्पलाल चौधरी, महासंघका खड्गबहादुर कुमाल, शंकर मेचे, दनुवार जागरण समितिका अध्यक्ष लक्ष्मीप्रसाद दनुवार लगायतले संवाद र सहमतिबाटै प्रदेशको नामकरण गर्न सुझाव दिएका छन् ।
Comments