मेचीनगर नगरपालिकाको वार्षिक समिक्षा गोष्ठी
Published: (Updated: )
by .काँकरभिट्टा । मेचीनगर नगरपालिकाको गत आर्थिक वर्ष २०७५÷ ०७६ को वार्षिक समिक्षा गोष्ठी शुक्रबारबाट शुरु भएको छ । नगरपालिकाको सभा हलमा नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा भएको गोष्ठीको औचित्यमाथि प्रकाश कार्यालयका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्यहाङ्ले पारेका थिए ।
उनले यस्ता कार्यक्रमले विगतमा कार्यालयले भए गरेका काम, त्यसका उपलब्धि तथा आगामी दिनमा कसरी जनमैत्री बनाएर अघि बढी सेवा प्रवाह गर्न सकिन्छ त्यसमा मद्घत पुग्ने विश्वास व्यक्त गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत खाम्यहाङ्ले कार्यालयको कामको पारदर्शीता तथा मितव्ययिताप्रति सकरात्मक रहदै जनउत्तरदायी बनेर अघि बढ्न सघाउ पुग्ने बताए । विगतका वर्षहरुमा जानी नजानी भएका भुललाई सुधार गर्दै आगामी दिनमा चुस्तदुरुस्त रुपमा सुशासन कायम गर्न समेत यस्ता गोष्ठी लाभदायक हुने उनको भनाई थियो ।
कार्यक्रममा नगरभिरका १५ वटै वडाका वडाध्यक्ष तथा सचिवहरुले आर्थिक वर्ष २०७५÷ ०७६ भए गरेका कामका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिकाँशले दर्ता, चलानी, कार्यालयले दिनुपर्ने सिफारीसलगायतका बारेमा आ आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । सामाजिक विकास शाखा प्रमुख अनन्तप्रकाश वस्तीले शाखा अन्तर्गत विभिन्न ५६ वटा शीर्षकमा एक बर्षे अवधिमा भए गरेका कामको प्रतिवेदन प्रस्तुत गदैं धेरै काम सम्पन्न भएको केही हुन बाकी रहेको र ती काम चालु आर्थिक वर्ष २०७६÷०७७ मा सरी आएको जानकारी दिए ।
आर्थिक विकास शाखा प्रमुख दीपेन्द्रकुमार कार्कीले एकवर्षको अवधिमा नगरपालिकाकातर्फबाट १० लाख रुपैयाँको लागतमा १२ तथा नेपाल सरकार सशर्त अनुदान अन्तर्गत ९ लाख रुपैयाँको लागतमा १० वटा डिप वोरिङको काम भएको सहभागीलाई जानकारी गराए । कार्कीका अनुसार शाखा अन्तर्गत वातावरण सरसफाई सचेतना कार्यक्रममार्फत सबै वडाबाट सिफारीस गरिएका, सम्बन्धित सरोकारवाला संस्थाहरु उद्योग वाणिज्य संघ, खानेपानी, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी लगायतका ६० जनाको सहभागितामा २ दिने सचेतनामूलक तालिम, अर्गानिक खेती प्रोत्साहन कार्यक्रम अन्तर्गत सबै वडाहरुमा ५ लाखको बिभिन्न साग सव्जीको वउ वीजन वितरण सम्पन्न भएको छ ।
उन्नत वीउ विजन वितरणतर्फ सूचना बमोजिम माग निवेदनका आधारमा नेपाल सरकारको सूचीकृत उन्नत धानको वीउ विजन विभिन्न वडाका कृषक, कृषक समूह, कृषि सहकारीमार्फत ५० प्रतिशत अनुदानमा ४ लाख ४४ हजार रुपैयाँ बराबरको १४ हजार केजी वितरण गरीएको, चाक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रमतर्फ सार्वजनिक प्रस्ताव आव्हानको सुचना भएर पेश भएका मेची कृषक बहुमुखी सहकारी संस्था लि. मेचीनगर ८ लाई ९ लाख र बाहुण्डाँगी कृषि तथा पशुपालन प्रालि.लाई ८ लाख रुपैयाँ स्वीकृत भै कार्यक्रम समेत सम्पन्न भएको जानकारी दिए । उनले मत्स्यपालन प्रोत्साहन कार्यक्रम अन्तर्गत बाह्रपाले कृषक समूह मेचीनगर–९ कृषि फर्म मेचीनगर –११ हरियाली कृषक समूह, मेचीनगर –९ मागुरमाडी कृषक, गोमनसरी माछा पालन फार्म, मेचीनगर–७ लाई माछा आहार खरिद तथा भुरा खरिद प्रोत्साहन स्वरुप जनही ९० हजार तथा मेचीनगर –७ का कृषक कृष्णप्रसाद उप्रेतीलाई माछा आहारा तथा भुरा खरिदका लागि ५० हजार रुपैयाँ अनुदान दिएको बताए ।
सुपारी मरिच तेजपत्ताको विरुवा वितरण अन्तर्गत कार्यालयमा भएको माग निवेदन अनुसार सुपारी खेती विकास संस्था सँगको समन्वयमा विरुवाहरु वितरण २०७५÷०७६ अन्त्यतिर सम्झौता भएकोले वितरण सम्पन्न नभएको तथा चालु आर्थिक वर्ष ०७६÷०७७ मा भुक्तानी हुने गरि सारिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । पशुपालन प्रोत्साहन कार्यक्रम सार्वजनिक सूचनाका आधारमा ५ लाखरुपैयाँ प्रदान गरिएको छ । ब्यवसायिक गाई पालन तर्फ देउराली कृषि फार्म, रामकुमार राउत, मेचीनगर १ एक लाख, संञ्जीव गाई तथा कृषि फार्म, शेर बहादुर पौडेल, मेचीनगर–४ लाई १ लाख रुपैयाँ ब्यवसायिक बाख्रा पालन तर्फ कृषल कृषि फार्म, ढक बहादुर राउत, मेचीनगर–५, लाई ५० हजार, सि.एम.एग्रिकल्चर फार्म, चुडामणि मगर, मेचीनगर–२ लाई रु ५० हजार अनन्य कृषि फार्म, डम्बर चम्लागाई, मेचीनगर–१ लाई ५० हजार सरु बाख्रा पालन फार्म, भुलमाया कामी, मेचीनगर–३ लाई रु ५० हजार मात्र , सक्षम बाख्रा पालन, सुमन कार्की मेचीनगर–३ लाई ५० हजार प्रगति बाख्रा पालन फार्म, भुपाल तामाङ्ग, मेचीनगर–७ लाई २५ हजार तथा नमन कृषि फार्म मधुसुदन आचार्य, मेचीनगर–४ लाई २५ हजार मात्र रुपैयाँ प्रदान गरिएको थियो ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख होमप्रसाद भण्डारीले एकवर्षको अवधिमा शाखा अन्तर्गत भएका कामका बारेमा विवरण प्रस्तुत गरे । उनले शिक्षाका लागि विनियोजित मध्ये ९० प्रतिशत बजेट खर्च भएको, जिल्लाको अन्य सामुदायिक विद्यालयको तुलनामा मेचीनगरको विद्यालयको शैक्षिक गतिविधी प्रभावकारी बनेको, नगरभित्रका केही सामुदायिक विद्यालयहरु नमुना विद्यालयको रुपमा सञ्चालन भएको बालक्लव गतिविधि र बालमैत्री शिक्षण तर्फ विद्यालयहरु उन्मुख रहेको विवरण प्रस्तुत गदैं चुनौती र समस्याका बारेमा जानकारी गराएका थिए । नगरको आफ्नो शिक्षा ऐन बन्न नसक्नु
नगर तथा विद्यालयहरुको आफ्नो स्थानीय पाठ्यक्रम नहुनु, कतिपय अवस्थामा निकाशा भएको रकम विद्यालयको खातामा ढिलो जम्मा हुनु, आर्थिक वर्षको अन्त्यमा बजेट प्राप्त हुँदा कार्यान्वयनमा कठिनाई हुनु । शिक्षा सेवाको स्थानीय संरचना अनुसारका कर्मचारी पदपूर्ति नहुनु र विद्यालय अनुगमन र अभिलेख चुस्त हुनसक्नु मुख्यः चुनौती रहको भण्डारीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
शिक्षा ऐनको मस्यौदा तयार गरी सम्बद्द सरोकारवालाई उपलब्ध गराइसकिएको र आगामी दिनमा ऐन बन्न सक्ने, स्थानीय पाठ्यक्रम निर्माण सम्बद्द सरोकारवाला र विषय विज्ञबाट निर्माणको अभ्यास शुरु गरीने, विद्यालयमा निकाशा भएको रकम समयमै विद्यालयले खर्च गर्ने व्यवस्था मिलाइने, स्थानीय तहलाई विनियोजन हुने रकम समयमै निकाशा गर्न शिक्षा मन्त्रालयलाई अनुरोध गर्ने, शिक्षाको संरचना अनुसार समयमै कर्मचारी पदपुर्तिका लागि अनुरोध गर्ने समाधानका लागि भएका प्रयासहरु भएको बताए । उनले आगामी वर्षका लागि सुझावहरु समेत प्रस्तुत गरेका थिए ।
रोजगार संयोजक कृपा रेग्मी, स्वास्थ्य शाखा प्रमुख शशीकला राई, आयुर्वैेद शाखा प्रमुखm आइटि प्रमुखलगायतका विभिन्न शाखा प्रमुखहरुले आ–आफ्नो शाखाको विवरण प्रस्तुत गरेका थिए । प्रस्तुत विवरणमाथि सहभागी कार्यपालिका सदस्यसहित जनप्रतिनिधिहरुले आ आफ्नो जिज्ञाशा राखेका थिए । उनीको जिज्ञाशा सम्बन्धित शाखा प्रमुखहरुले जवाफ दिएका थिए । गोष्ठी सम्भवतः दुईदिनसम्म चल्ने नगरप्रमुख आचार्यले बताए । गोष्ठीका क्रममा उठेका छलफलका बारेमा कार्यालयले जानकारी गराउने बताइएको छ ।
Comments