Sajhamanch Archive

आखिर मुगलान किन ?

Published: in शिक्षा, by .

नाङ्लोमा चामल केलाउँदै गरेकी आमाको आँखा चामलमा भए तापनि ध्यान भने छोराको चिन्ताले तानेको हुन्छ । चामल केलाएर खाना बनाउने भन्दा नि धेरै छोराको आउने दिनको पखाईमा हुन्छिन् । तब अचानक मोबाइलको घण्टी बज्छ अनि पटुकीमा राखेको मोबाइल निकालेर “हेलो” भन्छिन् ।

कुनै नयाँ आवाजको शैलीमा उताबाट जवाफमा हेलो फर्काउछ अनि भन्छ “तपाईको छोरा काम गर्ने कम्पनीको मालिक हुँ म । तपाईको छोरा हिजो काम गर्ने क्रममा अचानक लड्यो र हामीले अस्पताल लादालादै बाटोमै मृत्युको मुखमा पुग्यो । त्यही भएर तपाईलाई यो खबर गर्नलाई फोन गरेको हो ।” यति भनेर उताबाट फोन राख्छ ।

यस्तो खबर सुन्ना साथ चामलले भरिएको नाङ्लो हातबाट खस्छ र त्यो चामलको दानाहरू छरपष्ट तरिकाले भुईमा झरे झै हजारौ सपनाले बाधिँएको त्यो पिडा भन्न सक्दिन तर आमाको त्यो आँखाबाट झरेको आशुको थोपा हजारौँ टुक्रामा टुक्रेको मन अनि अनुहारमा छाएको निराशपनबाट प्रष्ट बुझ्न सक्छौ त्यो आमालाई कति धेरै पिडा छ भनेर । यस्ता धेरै घटनाहरू हाम्रो नेपालको प्राय आमाहरूले भोग्दै आउनु भएको छ ।

निधारमा टीका, घाँटीमा सयपत्रीको माला, काँधमा केही कपडाको झोला, हजारौँ मिठा सपनाहरू अनि घर छाड्न मन नलागी नलागी भए आँसुले भरिएको आँखा बोकी गाउँ घर, साथीभाइ, दिदीबहिनी, आमा बुबाहरूको मायाले यी अघि सरिरहेको पाइलाहरूलाई रोक्न खोजे पनि मनलाई समालेर बरु सकेसम्म बेवस्था गरे झैँ मुगलान गएर धेरै पैसा कमाउने आशामा आज हाम्रोे धेरै दाजुभाइहरू विदेशमा पसिना बगाई राख्नु भएको छ ।

हुन त कसलाई पो बिरानो देशमा गएर काम गर्ने रहर हुन्छ ? के गर्नु असारमा पानी पर्दा पानी चुहिने परालको छानो, घरमा हुर्केकी बहिनीको लागि राम्रो कुटुम्ब खोज्न, भाइको विद्यालय खर्च तिर्न अनि जन्म दिने आमाबुबालाई पाल्न हरेक छोराहरू मुगलान जान बाध्य भइरहेका छन् ।

मुगलान गएर सोचे जस्तो पैसा कमाएर परिवार पनि खुसी साथ पालि रहेका छन् । दिनहु उनीहरू मेहनत गर्छन । महिना पुगेपछि आफुले गरेको मेहनतको पैसा हातमा हुँदा भन्दा सात समुद्र पारी भएको परिवगारसँग बोल्न पाउँदा उनीहरू धेरै खुसी हुन्छन् ।

यी छोराहरूलाई त्यो सब सम्झदा तुरुन्तै घर फर्किउ जस्तै लाग्छ तर के गर्नु गरिबीको छाहारीमा दिनको घाम पुगे पनि समय भने औशी रातको अन्धकार झैँ काट्नुपर्छ । मान्छेले विश्वास नगर्दो रहेछ, गाउँ छिमेकमा कोही छिमेकीले नबोलाउँदा रहेछन् । बरु कुनै धनी मान्छेको कुकुर बाटोमा हिडिरहेको छ भने बोलाएर खान दिन्छन् तर गरिबको छोरा केही आशामा त्याँ जाँदा आगन छिर्न नपाई गाली गरेर खेदाउँछन् । सम्बन्ध त यहाँ पैसाले भरिएको गोजीवाल अनि राम्रा कपडा लाउनेहरूसँग मात्र हुदोँ रहेछ ।

विदेशमा हाम्रो दाजुभाइहरू धेरै जनाले ज्यान गुमाइसकेका छन् । तर यो सबै थाहाँ भएर पनि यस्ता गरिबीको पिडाबाट मुक्त हुनलाई आफ्नो ज्यान बाजीमा लगाएर मुगलान गइरहेका छन् ।

मुगलान जानु कसैको रहर नभएर धेरै वर्ष यता एउटा बाध्यता बनेको छ र विदेशमा दिन रात आफ्नो ज्यानलाई ख्याल नगरी पसिना बगाई रहनुभएको दाजुभाइप्रति कहिल्यै नराम्रो छाँयाले नछुओस् । अनि चाँडो स्वदेश फर्की आफ्नो बिछोडिएका परिवारसँग एक साथ समय विताउन पाउन् भन्ने कामना गर्दछु ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *