पत्रकार पुडासैनी आत्महत्या प्रकरण: कँडेल र कार्कीको बयान सकियो, रवि लामिछानेको जारी
Published:
by .काठमाडौं । माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्ट आएको छ । पुडासैनि झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।
पोस्टमार्टम रिपोर्टमा पुडासैनीले आत्महत्या गरेको उल्लेख रहेको संकेत जिप्रका चितवनका प्रमुख एसपी दानबहादुर मल्लले गरे ।
पुडासैनीको भिडियो हेरेको छैन : रवि लामिछाने
रवि लामिछानेले सरकारी वकिलसँग पुडासैनीले आफूलाई आरोप लगाएर बोलेको भिडियो अहिलेसम्म नहेरेको बताएका छन् । उनले बयानका क्रममा आफूलाई गाली गरेको र आरोप लगाएको भन्ने अरूबाटै सुनेको, तर भिडियो भने नहेरेको बताएका हुन् ।
पुडासैनी मृत्यु घटनाको अनुसन्धानकै लागि भनेर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता एसपी दीपक रेग्मी चितवन आएका छन् । पुडासैनीकी श्रीमतीले आइतबार प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएकी छिन् । त्यो जाहेरी चितवन प्रहरीले पाइसकेको छ । लामिछानेका समर्थकहरूले सोमबार पनि भरतपुरमा प्रदर्शन गरेका छन् । भरतपुर चौबीसकोठीमा प्रदर्शन गर्ने पाँचजनालाई गिरफ्तार गरेको प्रहरीको भनाइ छ ।
बयान लिने क्रम जारी
पत्रकार पुडासैनी आत्महत्या घटनाका आरोपीसँग बयान लिने क्रम जारी छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अस्मिता कार्कीसँग र सोमबार सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेलसँग बयान लिएको छ । तर, लामिछानेसँगको बयान भने अझै नसकिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
कँडेल र कार्कीले भने इन्कारी बयान दिएको स्रोतले जनाएको छ । लामिछानेसँग मंगलबार पनि बयान लिइने भएको छ । आरोपीद्वय कँडेल र कार्कीको बयान सकिएपछि लामिछानेसँग सोमबार दिउँसो तीन बजेपछि बयान लिन सुरु गरिएको थियो । बयान बेलुकी ६ बजे स्थगित गरिएको थियो । प्रारम्भिक बयानका क्रममा मृतक पुडासैनीसँगको चिनजान, कामको सिलसिला, व्यवहारबारे लामिछानेसँग जानकारी लिइएको छ ।
बयान नसकिएकाले मंगलबार थप अनुसन्धानका लागि अदालतबाट पुनः म्याद थपिने सम्भावना छ । ‘अनुसन्धानको मिसिल नै तयार भएको छैन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘अनुसन्धान नै नसकीकन कसरी अदालतमा लगेर मुद्दा दर्ता गराउनू ?’ प्रहरीले आरोपीको फोन कल डिटेल र मोबाइल सन्देश लिई अनुसन्धान गरिरहेको छ । ‘चर्चित र गम्भीर प्रकृतिको मुद्दालाई हतार–हतार र हलुका रूपमा बुझाउनु भएन नि,’ ती प्रहरी अधिकृतले भने ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका पत्रकार पुडासैनी नारायणगढको पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा साउन २० गते राती मृत फेला परेका थिए। आत्महत्या अघि पत्रकार पुडासैनीले मोबाईलमा रेकर्ड गरेको भिडियो गत बुधबार सार्वजनिक भएको थियो। भिडियोमा कार्की, लामिछाने र कडेंलका कारण मर्नु परेको मृतक पुडासैनीले बोलेका थिए।
Comments