भद्रपुरमा नयाँ प्रविधि जडित रथ यात्राको तयारी
Published:
by .
भद्रपुर । १७ वर्षयता निरन्तर चलिरहेको भद्रपुर रथयात्रा यस वर्षबाट नगरपालिकाको संरक्षणत्वमा नयाँ स्वरूपमा सञ्चालन हुने भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट सञ्चालन हुने रथयात्रा सञ्चालनको मूल आर्थिक भार भद्रपुर नगरपालिकाले लिएपछि पुरानो रथ विदाइ हुँदै नयाँ प्रविधि जडित नयाँ रथ सञ्चालन हुने भएको हो ।
१० वटा वडा रहेको भद्रपुर नगरपालिकाले १० वटै वडाको अपनत्व हुने गरी धार्मिक सामाजिक संघ संस्थाको सहभागीतामा रथयात्रा मूल समारोह समिति निर्माण गरी यात्रा तयारी पूरा गरिसकेको छ । सामाजिक व्यक्तित्व देवकुमार घिमिरेको नेतृत्वमा ९ सदस्यीय रथयात्रा सञ्चालन सचिवालय गठन गरी तयारी पूरा गरिएको हो ।
रथयात्रा सञ्चालन समितिले दिएको जानकारी अनुसार भद्रपुर ५ स्थित लक्ष्मीनारायण मन्दिरबाट शनिवार बिहान ११. ३० वजेबाट सुरू हुने रथयात्रा नगरका अधिकांश वडाका मुल चौक तथा सडकको यात्रा पूरा गरी राती ८.३० वजे समापन हुने छ ।
रथयात्रा संयोजन समितिका अध्यक्ष देवकुमार घिमिरेको अध्यक्षता तथा संरक्षण समितिका अध्यक्ष नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रमा बोल्दै नगर प्रमुख श्रेष्ठले भद्रपुरको पहिचान र गौरबका रूपमा रथयात्रा स्थापित गर्न नगर सरकार प्रतिबद्ध रहेको धारणा राखे । प्रमुख श्रेष्ठले नगरका सवै प्राविधिक कारण रथ पुर्याउन नसके पनि सवै् नगरबासीको साझा बनाउने प्रयास थालिएको जानकारी दिए ।
Comments