प्रमुख जिल्ला अधिकारीलाई धम्क्याएर बम पड्काउँदै हिड्ने पक्राउ
Published:
by .
पर्सा । पर्साका प्रमुख जिल्ला अधिकारीलाई समेत धम्क्याई समाजमा अशान्ति मच्चाउन सुतली बम पड्काउँदै हिड्ने तीन अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
तीन थान सुतली बम, ४ राउण्ड गोली र २ वटा मोबाइलसहित तीन अभियुक्तलाई पर्सा प्रहरीले वीरगन्ज २५ स्थित चण्डाल चौकबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका –२४ का इनुस अंसारी, सद्दाम अंसारी र टाइगर भन्ने जौवाद अंसारी रहेका पर्सा प्रहरीले जनाएको छ। पक्राउ परेका अभियुक्तहरुलाई अशान्ति मच्चाउन लगाउने मुख्य नाइके फुलहसन अंसारी भने फरार रहेको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए।
अपराधमा सजाय काटेकाबाटै अपराध कर्ममा निरन्तरता
जयशंकर साहको कर्तव्य ज्यान मुद्दामा कारागारबाट सजाय काटी ०७४ असोज ९ गते छुटेका फुल हसनले वीरगन्ज कारागारका चौकीदार शेख भोलासँग माग गरेको १० लाख नपाएपछि अशान्ति मच्चाउन युृवाहरु परिचालन गरेका थिए।
‘कारागारको चौकीदारलाई सरुवा गर्छस् कि तेरा जनता मरेको हेर्छस् भनी विदेशी नम्बरबाट एसएमएस मार्फत पटक पटक धम्की आउँथ्यो।’ प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले भने। ‘त्यसपछि हामीले सुक्ष्म अनुसन्धानबाट उनीहरुलाई पक्राउ गर्न सफल भयौं।’ कैदीहरुलाई सामान बिक्री गर्दा अतिरिक्त रकम लिन र लागुऔषधको कारोबार कारागार भित्रबाट रोक लगाएकोले छटपटिएको फुल हसनले यस्तो क्रियाकलपा गरेको भट्टराईको तर्क छ। त्यस्तालाई कानुनी दायरामा ल्याइन्छ भन्दै समाजमा कसैलाई पनि अशान्ति मच्चाउने छुट नभएको प्रजिअ भट्टराईले बताए।
गत साउन २४ गते साँझ वीरगन्ज ४ विर्ताको तरकारी बजारमा विष्फोटक पदार्थ विष्फोट हुँदा २ जना र २८ गते वीरगन्ज ८, घण्टाघर नजिकको तरकारी बजारमा साँझ ८ बजेतिर विष्फोट हुँदा १ जना सर्वसाधारण घाइते समेत भएका थिए। समाजमा विष्फोटक पदार्थ विष्फोड गराई अशान्ति मच्चाउने मध्ये नियन्त्रणमा लिएका तिनै जना अभियुक्तलाई हातहतियार खरखजाना तथा विष्फोडक पदार्थ प्रयोग गरेको मुद्दामा सात दिनको म्याद थप भई अरु अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।
थाहा खबरबाट ।
Comments