पुराना दलले जनतालाई राजनीतिक माया जालमा पारे : रवीन्द्र मिश्र
Published:
by .बुटवल । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले मुलुक परिवर्तन पुराना राजनीतिक दलहरूबाट सम्भव नभएको बताएका छन् । उनले पुराना राजनीतिक दलको अपहरणबाट मुक्त नहुँदासम्म मुलुकको विकास नहुने जिकिर गरे ।
आज बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै संयोजक मिश्रले भने, ‘पुराना राजनीतिक दलको छाता नत्यागेसम्म मुलुक बन्दैन । त्यसैले अब पुराना गाँजेर राखेको राजनीतिक दल त्याग्नुको विकास सम्भव छैन । पुराना दलको अपहरणबाट मुक्त हुनुहोस् । साझा पार्टीसँग मुलुकको समृद्धिको स्पष्ट खाका छ ।’
गणतन्त्रमाथि खतरा आयो भन्ने दलका नेताहरूको अभिव्यक्ति आफ्ना कमीरकमजोरी ढाकछोप गर्ने प्रयासको भएको बताए । उनले गणतन्त्रमाथि अरू कसैबाट खतरा नभएर दलका नेताहरूको असक्षमताका कारण खतरा उत्पन्न हुन सक्ने विचार व्यक्त गरे । मिश्रले गणतन्त्रमाथि खतरा आयो भन्ने दलका नेताहरूको अभिव्यक्तिलाई ‘नाच्न नजान्ने आगन टेढो’को संज्ञा दिए ।
राजा र राजतन्त्रवादीहरूको गलत क्रियाकलापका कारण राजतन्त्र अन्त्य भएको भन्दै उनले वर्तमान सरकार र केही गणतन्त्रवादी नेताहरूका गल्ती र कमजोरी कारण गणतन्त्र खतरामा पर्न सक्ने बताए । पुराना राजनीतिक दलहरूले जनतालाई राजनीतिक माया जालमा पारेर राखेको भन्दै संयोजक मिश्रले जनता पुराना दलको राजनीतिक माया जालबाट बाहिर ननिस्किएसम्म मुलुकको समृद्धि सम्भव नभएको दाबी गरे ।
दुई तिहाइ बहुमतको सरकार बनेपछि जनता मुलुक स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढ्छ भन्ने विश्वासमा रहे पनि मुलुक स्थायित्व र समृद्धितर्फ एक कदम पनि अगाडि बढ्न नसकेको भन्दै उनले अब जनताले आफ्नो मन र मत बदल्नुपर्ने बेला आएको बताए ।
Comments