दशैंका लागि १३ अर्ब नयाँ नोट, २० दिन अगाडि नै दिइने
Published:
by .काठमाडौं । नेपाल राष्ट्र बैंकले नजिकिंदो नेपाली चाड दशैंका लागि १३ अर्ब हाराहारी नयाँ नोट सटहीको तयारी थालेको छ ।
यस पटकको दशैंमा २० दिन अगाडि नै नयाँ नोट बाँड्ने गरी तयारी भइरहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिएका छन् ।
यद्यपि, कतिसम्म नयाँ नोट दिने र कति सम्म सटही गर्ने भन्ने निर्णय हुन बाँकी रहेको उनले बताएका छन् । कुन–कुन स्थानबाट सटही सुविधा दिने भन्ने विषयमा पनि छलफल पछि निर्णय गरिने निरौलाले बताए ।
दशैं र तिहारका लागि मात्र लक्षित गरेर नयाँ नोट सटही गर्दै आएको राष्ट्र बैंकले गत वर्षदेखि मुख्य–मुख्य पर्वमा पनि सटही सुविधा दिन थालेको छ । यसपटक पनि सो सुविधा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले नयाँ वर्ष, उभौली पर्व, ल्होसार फागुनन्द जयन्ती जस्ता चाडमा सटही सुविधा दिन थालेको छ ।
Comments