संस्थापक अध्यक्षको स्मृतिमा बृक्षारोपण
Published:
by .मेचीनगर । रोटरीका अन्तर्राष्ट्रिय संस्थापक पावल ह्यारिस र रोटरी क्लब अफ काँकरभिट्टाका संस्थापक अरुणकुमार श्रेष्ठको स्मृतिमा शुक्रबार झापाको मेचीनगरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
रोटरी क्लव अफ काँकरभिट्टा तथा रोट्रयाक क्लब अफ काँकरभिट्टाले कुशे आंैसीको अवसर पारेर मेचीनगर —६ स्थित मेची गंगा रामानुज दिव्यधाममा ६० वटा रुद्राक्षको विरुवा रोपेको हो । मेचीनगर नगरपालिकाका कार्यवहाक नगरप्रमुख नवीन वरालले प्रमुख अतिथिको आसनबाट कार्यक्रमको उद्घाटन गरिएको थियो । हिन्दु संस्कार अनुसार रुद्राक्षको महत्व निक्कै ठूलो भएकाले कुशे औंसीको अवसर पारेर विरुवा रोपेको क्लबका अध्यक्ष मोहन निरौलले बताए ।
अध्यक्ष निरौलाले रोटरी क्लब रोटरी गठन भएपछि काँकरभिट्टामा धेरै सामाजिक, शैक्षिक, स्वास्थ्यलगायतकाक्षेत्रमा काम भएको बताए । यसले शिक्षा स्वास्थ्य, वातावरण पर्यावरणलगायत अन्य सामाजिक क्षेत्रमा काम गर्ने गरेको र यसै सन्दर्भमा वृक्षारोपण गरिएको उहाँले प्रष्ट पारेका थिए ।
अब आफ्नो लागिमात्र होइन समाजका लागि पनि केही गर्नुपर्छ आफ्नो आम्दानीको केही हिस्सा समाजका लागि पनि लगानी गर्नुपर्ने भन्दैं प्रमुख अतिथि कार्यवहाक नगरप्रमुख वरालले रोटरीबाट सवैले पाठ सिक्नुपर्ने बताए । नगरलाई सफा स्वच्छ र स्वस्थ्य हराफरा बनाउनु आम नगरवासीको दायित्व भएकाले यसरी नै वृक्षारोपण गरेर यसको उचित हेरचाह र संरक्षण गर्ने हो भने नगर आफै स्वच्छ बन्ने धारणा उनको थियो ।
सन् १९०५ फेव्रवरी २३ तारीखमा अमेरिकाको सिकागो भन्ने शहरमा पावल ह्यारिससहित अन्य चारजना मिलेर रोटरी स्थापना गरेका थिए । सन् २०१० मा स्व. अरुणकुमार श्रेष्ठको अगुवाईमा यहाँका विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गरेर बसेका ३१ जनाबाट रोटरी क्लब अफ काँकरभिट्टा स्थापना भएको थियो । क्लब व्यवस्थापन समितिका संयोजक सुजन प्रधानले सञ्चालन तथा सर्भिस प्रोजेक्ट चिफ दिलीप सुवेदीले स्वागत गरेका थिए ।
Comments