विमानस्थलका कर्मचारीलाई मन्त्री भट्टराईको निर्देशन
Published:
by .
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइलसमेत नचलाउन निर्देशन दिएका छन् ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आइतबार काठमाडौंमा उद्घाटन पछि मन्तब्य राख्दै मन्त्री भट्टराईले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्वीर आफूले संकलन गरेको जानकारी गराउँदै उनीहरुमाथि कारबाही गर्न विमानस्थल नेतृत्वलाई निर्देशन दिएको पनि जनाएका छन् ।
विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सीसी टिभी क्यामेराको थप व्यवस्था गर्ने योजना रहेको पनि उनले बताए । विमानस्थल मुलुकको इज्जतसँग जोडिएकाले कर्मचारीहरु बढी अनुशासित हुनुपर्ने मन्त्री भट्टराईको भनाई छ ।
मन्त्री भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनीसमेत दिएका छन् । उनले कुनै पनि दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्ने पनि स्पष्ट पारे ।
Comments