राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले एकीकरण अभियानलाई तीव्र
Published:
by .विर्तामोड । झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले एकीकरण अभियानलाई तीव्रता दिएको छ । मंगलबार पार्टीको २ नम्बर क्षेत्रीय तथा अर्जुनधारा नगर समितिले पूर्णता पाएको छ । पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश मिश्रको प्रमुख आतिथ्यतामा विर्तामोडमा सम्पन्न भेलाले मनोज बोहोराकोे अध्यक्षतामा ११ सदस्यीय २ नम्बर क्षेत्रीय समिति तथा माधव भट्टराईको अध्यक्षतामा १५ सदस्यीय अर्जुनधारा नगर समिति गठन भएको जिल्ला सचिव निरबहादुर कार्की नेत्रले जानकारी दिए । उनका अनुसार क्षेत्रीय समितिको पहिलो बैठकले उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष सहित अन्य पदाधिकारी चयन गर्ने छ ।
यसैगरी, नगर समितिको सचिवमा जीवन कडरिया चयन भएका छन् भने बाकी पदाधिकारीहरु पहिलो वैठकले टुङ्गो लगाउने छ ।
पार्टीका अर्जुनधाराका ज्येष्ठ सदस्य रामबहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष चन्द्रबहादुर योङ्याले दुवै समितिका पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै वर्तमान संविधानसँग सहकार्य गर्ने, नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रतासहितको सर्वधर्म सापेक्ष हिन्दु राष्ट्र बनाउने, सहमती र साझा संस्थाको रुपमा राजसंस्थासहितको प्रजातन्त्र पूर्णवहाली गर्ने, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने, संविधानसम्मत गठित सवै इकाइहरुमा शक्तिको हस्तान्तरण गर्ने र एकीकृत पार्टीको महधिवेशनसम्म पार्टीमा दुईजना अध्यक्ष रहने पार्टीको मुल सिद्घान्तलाई पुरा गर्न आग्रह गरे ।
कार्यक्रममा पार्टीका प्रदेश नम्बर १ का निर्देशन समिति सदस्य देवराज रिजालले हिन्दु भनेको संस्कार भएको बताउदै आफ्नो संस्कार बचाउन सवैलाई एकजुट हुन आग्रह गरे ।
पार्टीका झापा प्रवक्ता लक्ष्मी ढकालले हरेक कार्यकर्ताले पार्टीको आस्था र विचारलाई लक्ष्यमा पुर्याउनु पर्नेमा जोड दिए । १ नम्बर क्षेत्रीय उपाध्यक्ष यमुना आचार्यले आगामी दिनमा पार्टीको उचाई निक्कै माथि पुग्ने दाबी गर्दै अब चाडै महिला संगठन समेत गठन गर्ने बताईन् ।
मेचीनगर अध्यक्ष नरेश महराले पार्टीलाई चलायमान बनाउदैं तल्लो तहबाटै सक्रिय बनाउनुपर्नेमा जोड दिदैं प्रशिक्षणको आवश्यकता औल्याए । पार्टीका जिल्ला अध्यक्ष मिश्रले विष्णु भट्टराई, दिपेन्द्र भण्डारी, टेकनारायण राजवंशी, प्रजापति कोइराला, चेतनाथ थापा, विजय दाहाललाई अनुशासनको कारवाहीको लागि केन्द्रमा कारवाहीमा सिफारीस गरेको बताए ।
उनीहरुले जिल्लामा केन्द्रको निर्देशन पालना नगरी सामान्नतर समिति बनाएका कारण अनुशासनको कारवाहीको माग गरेको उनको भनाई छ । सामानन्तर समितिको अध्यक्षमा लक्ष्मीप्रसाद ओडारी चयन भएपनि समान्नतर समिति बनाउन माथि उल्लेखित व्यक्तिहरुको भूमिका भएका कारण कारवाहीको माग गरिएको पार्टीले जनाएको छ । डाक्टर प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा राष्ट्रवादी र पशुपति शमशेर जवराले नेतृत्वको राप्रपा प्रजातान्त्रिक एकीकरणपछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले झापामा समायोजन शुरु गरेको हो ।
Comments