अफगानिस्तानमा बम बिस्फोट, दुई नेपालीको मृत्यु
Published: (Updated: )
by .
काठमाडौं । अफगानिस्तानमा भएको बम बिस्फोटमा दुई जना नेपालीहरूको मृत्यु भएको छ ।
काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार राति पौने १० बजे भएको बम बिस्फोटमा परी २ जना नेपालीसहित कम्तीमा १६ जनाको मृत्यु भएको हो । बम बिस्फोटबाट एक सय १९ जना घाइते छन् ।
पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावास स्रोतले समेत आत्मघाती हमलामा २ नेपालीको मृत्यु भएको अनौपचारिक जानकारी आएको बताएको छ ।
केही समय यता अफगानिस्तान समेत दिल्ली दूतावासले हेर्ने गरेको छ । मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको गार्दा वर्ल्ड नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत थिए ।
घाइतेमा कोही पनि नेपाली नरहेको स्रोतले जनाएको छ । सोही स्थानमा लामो समय काम गरेर करिब पाँच महिनाअघि फर्किएका एक नेपालीका अनुसार त्यति बेला त्यहाँ करिब ११८ जना नेपाली र केही नेपालीभाषी भारतीय नागरिक सुरक्षा गार्डका रुपमा तैनाथ थिए ।
बिस्फोटमा परी १२ जना अफगानी र २ जना अर्को देशका सुरक्षा गार्डको पनि मृत्यु भएको छ । बिस्फोटका लागि ट्रक नै प्रयोग गरिएको त्यहाँ कार्यरत एक नेपाली साथीले बताएका छन् ।
स्रोतका अनुसार बिस्फोटमा परी चितवन घर भएका कृष्ण थापा र रोल्पा घर भएका चन्द्र पुनको मृत्यु भएको छ । थापा र पुन दुवैको घटनास्थलमा नै मृत्यु भएको हो ।
Comments