Sajhamanch Archive

गलत ठाउँमा पार्किङ गर्दा प्रहरीद्वारा कन्टेनर धनी कुटिए

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

रसुवा । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नं.२ टिमुरेमा प्रहरीले सार्वजनिक स्थलमा एक व्यक्तिलाई कुटपिट गरेका छन् ।

मंगलबार साँझ साढे ४ बजे गलत ठाउँमा कन्टेनर पार्किङ गरेको भन्दै प्रहरीले अपशब्द बोलेपछि सामान्य भनाभन भएको थियो । ना ६ ख ४९२५ कन्टेनर धनी आशिष तामाङसँग सामान्य भनाभन भएपछि प्रहरीले कुटपिट गरेका थिए ।

तामाङमाथि कुटपिट गर्ने प्रहरी चौकी टिमुरेका प्रमुखको राजीनामाका साथै कुटपिटमा संलग्न प्रहरीको निलम्बनको माग गर्दै पीडित पक्षले राति १२ बजेसम्म प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले टिमुरेको अस्थायी प्रहरी चौकी तोडफोड गरेका प्रहरीले जनाएको छ ।

दिउँसो सामान्य भनाभनमा कुटपिट गर्ने प्रहरी राति तोडफोड हुँदा भने संयमित भएको थियो । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय रसुवाले हतारमा विज्ञप्ति जारी गरेको थियो ।

विज्ञप्तिको चौतर्फी विरोध भएको छ । घटनाबारे छानबिन भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

कुटपिटको विषयमा छानबिन गर्न प्रजिअ भण्डारीको टोली टिमुरेमा

तामाङलाई कुटपिट गरेको विषयमा छानबिन गर्न प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको टोली टिमुरे पुगेको छ ।

सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख, टिमुरेका प्रहरी तथा पीडितका समर्थकहरूसहित छलफल सुरु भएको प्रजिअ भण्डारीले बताए । मंगलबार दिउँसो प्रहरीले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रजिअको टोलीले घटनास्थलमा नै पुगेर छानबिन सुरु गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *