Sajhamanch Archive

मोटरसाइकल दाइजो नपाएपछि श्रीमतीको हत्या

Published: in राष्ट्रिय समाचार, समाज by .

रौतहट । मोटरसाइकल दाइजो नपाएपछि रौतहटमा एक जनाले श्रीमतीको हत्या गरेका छन् । रौतहटको राजपुर नगरपालिका ७ अकोलवामा रामबाबु सहनीले दाइजोमा मोटरसाइकल नपाएको निहुँमा श्रीमती सन्जुको हत्या गरेका हुन् । २५ वर्षीया सन्जु देवीको हत्या भएको बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीमा उल्लेख छ । उनले ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्ने गरेको बताए ।

केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भन्दै माग्ने गरेको अविलासले बताए । बिहीबार दिउँसो सन्जुको मृत्यु भएको खबर आएपछि गएर हेर्दा छोरीको घाँटीमा डाम देखिएको भन्दै उनले ज्वाँईले हत्या गरेको दावी गरे ।

जेठी छोरी सन्जुको बिहेमा केटा पक्षले माग गरे अनुसार दाइजो दिएको, तर कान्छी छोरीको बिहेपछि भने जेठा ज्वाइँ रामबाबुले मोटरसाइकल माग गर्दै छोरीलाई मानसिक र शारीरिक यातना दिने गरेको मृतकका बाबुको भनाई छ । छोरीलाई भेट्न जाँदा सन्जुले श्रीमान र ससुराली पक्षले आफूलाई यातना दिने र दाइजो मागेर ल्याउन दबाव दिने गरेको बताएकी पिताले बताए ।

प्रहरीले घटनाको अनुसन्धानका लागि मृतकको श्रीमान रामबाबु सहनी र ससुरा मोहन सहनीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले घटना शंकास्पद रहेकाले उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *