Sajhamanch Archive

नेपाली कांग्रेसको जागरण अभियानः केन्द्रीय नेता सच्चिनु पर्नेमा कार्यकर्ताको जोड

Published: (Updated: ) in राजनीति by .

विर्तामोड । ‘हिमाल, पहाड, तराई, मधेस, नेपाली कांग्रेस’ (हिपतम) भन्ने मुख्य नारासहित गत भदौ २४ गतेबाट जागरण अभियान सञ्चालन गरिरहेको नेपाली कांग्रेसले ७७ जिल्लाका ३ सय ३० वटै क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

विशेष सामाजिक संवाद, सामाजिक विकृति÷विसंगतिविरुद्ध जागरण, कम्युनिष्ट नेतृत्वको सरकारले दुईबर्षे कार्यकालमा गरेका भ्रष्टाचार आदिका बारेमा कांग्रेस कार्यकर्ताले धारणा राखेका छन् ।

जागरण अभियानमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले राष्ट्रिय मुद्दाहरुमा आफूलाई खरो ढंगले प्रस्तुत गर्न नसकेको, कम्युनिष्ट सरकारले गरेका ठूला भ्रष्टाचार काण्डहरुमा पार्टी नेतृत्व विरोधमा बोल्न चुकेको, पार्टीभित्र इमान्दार र लगनशील कार्यकर्ता भन्दा पैसावाला र ठेकेदारहरुको बोलबाला चल्न थालेको अवस्थाले कांग्रेस कमजोर भएको कार्यकर्ताहरुको भनाई थियो ।

कार्यकर्ताबाट प्रस्तुत सुझावमा पार्टीका केन्द्रीय नेताहरु वडा र बुथ तहबाटै निर्वाचित भएर आउनु पर्ने, केन्द्रीय नेतालाई गरिएको आरक्षणको व्यवस्था खारेज हुनुपर्ने, पार्टीले उम्मेद्वारी दिंदा पैसावाला र ठेकेदार भन्दा लामो समयदेखि पार्टीको सांगठानिक जीवनमा निरन्तर योगदान पुर्याएकालाई प्राथमिकता दिइनुपर्ने, नेताका महलमा धाउने भन्दा जनताका झुपडीमा रमाउनेहरुलाई पार्टी नेतृत्वले चिन्न सक्नुपर्ने, पार्टीका सबै भातृ तथा शुभेच्छुक संस्थाको बैधानिक अवधि सकिनु अगावै महाधिवेशन सम्पन्न गर्नुपर्ने, जनताका सुख दुःखमा पार्टी नेता कार्यकर्ता सहभागी हुनुपर्ने, किसानले भोग्नु परेका समस्याप्रति पार्टी संवेदनशील हुनुपर्ने रहेका छन् ।

त्यसै गरी मौलाएको चरम गुटबन्दीको अन्त्य हुनुपर्ने, पार्टीको सिद्धान्त नीति विचार, कार्यक्रम र अनुशासन सबैले पालना गर्नुपर्ने, दण्ड र पुरस्कारको व्यवस्था गरेर पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन केन्द्रीय नेतृत्व सच्चिनुपर्ने, केन्द्र, प्रदेश र स्थानीयस्तरमा भएका भ्रष्टाचारका विरुद्ध पार्टी नेतृत्वले जनताका बीचमा गएर भण्डाफोर अभियान सञ्चालन गर्नुपर्ने लगायतका सुझावहरु प्रस्तुत गरेका छन् ।

जागरण अभियान नेपाली कांग्रेसले झापाका सबै क्षेत्रहरुमा सक्रियतका साथ कार्यकर्ताहरुलाई भेला गरी जागरण अभियान सञ्चालन गरिहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *