Sajhamanch Archive

एनआरएनएको अध्यक्षमा आचार्य र उपाध्यक्षमा अर्जुन श्रेष्ठको उम्मेदवारी घोषणा

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष कुल आचार्यले र उपाध्यक्ष पदमा वर्तमान सचिव अर्जुनकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।

एनआरएनएको नवौं विश्व सम्मेलन तथा राष्ट्रिय महाधिवेशन आगामी अक्टुबर १५–१७ मा काठमाडौंमा हुँदैछ । एनआरएन अभियानमा विश्वका ८० भन्दा बढी मुलुकबाट ६० लाखभन्दा बढी नेपाली सहभागी छन् ।

अध्यक्ष पदका उम्मेदवार आचार्यले मंगलबार लन्डनमा आयोजित सभामा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । आचार्यले ९ सूत्रीय एजेन्डासहित उम्मेदवारी घोषणा गरेको कुल आचार्य समूहका एक सल्लाहकारले जानकारी दिए ।

‘अध्यक्ष पदमा उम्मेदवारी दिने विषयमा औपचारिक घोषणा कर्मभूमि लण्डनबाट गरिने छ र प्रतिवद्धता पत्र जारी गरिने छ’ आचार्यलाई उधृत गर्दै ती सल्लाहकारले भने । आचार्यले काठमाडौंमा अर्को साता एक कार्यक्रमको आयोजना गरी विस्तृत प्रतिवद्धता पत्र जारी गर्ने बताइएको छ ।

सन् २००३ मा नेपालीहरुको हितमा कार्य गर्ने उद्देश्यले स्थापना गरिएको एनआरएनएको अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका आचार्य वर्तमान उपाध्यक्ष हुन् । आचार्य गैरआवासीय नेपाली संघ बेलायतको सदस्य हुँदै अध्यक्ष र गैरआवासीय नेपाली संघको युरोप संयोजक भएर कुशल नेतृत्व गरिसकेका छन् । उनले गैरआवासीय नेपाली समुदायबीच लोकप्रिय छवी बनाएका छन् ।

अध्यक्ष पदका उम्मेदवार आचार्यका एजेण्डा

एनआरएनएको आगामी सम्मेलन एजेण्डा विहीन भएको टिप्पणी भइरहेको समयमा आचार्यले स्पष्ट दृष्टिकोणका साथ ९ सूत्रीय एजेण्डा अघि सारेका छन् । नेपालको आर्थिक विकास र समृद्धिमा विशेष योगदान गर्ने दृष्टिकोणसहितको नीति र कार्ययोजना प्रस्तुत गरिने आचार्यको तयारी छ ।

‘मातृभूमिको समृद्धिको राष्ट्रिय अभियानसँग विश्वभर रहेका नेपालीहरुलाई जोड्नु छ, त्यसैले हामीले नेपालको विकास र नेपाली मूल्य–मान्यता, भाषा र संस्कृतिको प्रवद्र्धनका लागि विशेष योगदान गर्ने घडी आएको छ’ आचार्यले भनेका छन् ।

संविधानको मर्मअनुसार गैरआवासीय नागरिकता जारी गर्न निर्णायक पहल गर्ने प्रतिवद्धता आचार्यले व्यक्त गरेका छन् । उनले एकपटकका नेपाली सधैँका नेपाली भन्ने भावनालाई प्रतिनिधित्व गर्दै नागरिकताको विषयलाई टुंग्याइनु पर्ने बताएका छन् ।

आचार्यले वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन एनआरएनएमार्फत आफू लाग्ने प्रण गरेका छन् ।

साथै गैरआवासीय नेपाली संघको संस्थागत सुधार गरी केन्द्रीय सचिवालयलाई प्रभावकारी र कार्यमूलक बनाउने एजेण्डा पनि आचार्यले अघि सारेका छन् ।

‘गैरआवासीय नेपालीहरुको बारेमा जानकारी संकलन गर्ने, कुनै समस्या भएमा तत्काल एक्सनमा जाने र त्यसको समाधान गर्ने तथा केन्द्रीय सचिवालयलाई अझै प्रभावकारी बनाउनै पर्छ’ उनले भनेका छन्, ‘मैले यस विषयमा विस्तृत कार्ययोजना निर्माण गरेको छु ।’

उपाध्यक्षमा पूर्वसचिव श्रेष्ठको उम्मेदवारी घोषणा 

यसरी नै एनआरएनए उपाध्यक्षमा पूर्वसचिव अर्जुनकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले विज्ञप्ती जारी गर्दै २०१९–२१ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

श्रेष्ठले उम्मेदवारी घोषणासँगै आफ्ना केही एजेण्डा अगाडि सारेका छन् । ‘गैरआवासीय नेपाली अभियान सुरु भएको १६ वर्षमा हाम्रा माग पूरा गरेर सरकारले विकास साझेदार बन्ने बाटो खोलेको छ,’ विज्ञप्तीमा लेखिएको छ, ‘गैरआवासीय नेपालीले उठाउँदै आएको दोहोरो नागरिकतालाई नयाँ संविधानले समेटेको छ । तर, ऐनमार्फत पूरा गर्नुपर्ने कामका लागि निरन्तर दबाब दिन आवश्यक छ ।’

गैरआवासीय नेपालीहरुको सामुहिक अभियानले नेपालमा लगानी भित्र्याएको उल्लेख गर्दै उनले सामाजिक क्षेत्रमा पनि यस अभियानले ठूलो योगदान पुर्याएको उल्लेख गरेका छन् । ‘संयुक्त लगानीमा सञ्चालन भइरहेका परियोजनालाई अझ अगाडि बढाउनुपर्ने दायित्व छ’ उनको विज्ञप्तीमा भनिएको छ, ‘सँगसँगै नेपाल सरकारले परिकल्पना गरेको समृद्ध नेपालः सुखी नेपालीमा योगदान पुर्याउने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नुपर्ने दायित्व छ ।’

समृद्ध नेपाल नभएसम्म विदेशमा बस्ने कोही पनि नेपालीको व्यक्तिगत समृद्धिले अर्थ नराख्ने बताउँदै उनले मुलुकको समृद्धिका लागि लगानी भित्र्याउने कार्यमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् । ‘विदेशमा सिकेका सीप र प्रविधिलाई नेपालको विकासका लागि प्रयोग गर्ने वातावरण तयार गर्नेछु’ विज्ञप्तीमा भनिएको छ ।

वैदेशिक रोजगारीमा समस्यामा परेका नेपालीको उद्दार र राहतका लागि विशेष पहल गर्ने, गैरआवासीय नेपालीलाई एनआरएनएमा एकत्रित गर्दै साँच्चिकै बलियो संस्थाकोरुपमा स्थापित गर्न सक्रिय रहने र नेपालमा व्यक्तिगतरुपमा भइरहेका परोपकारी कार्यलाई थप प्रोत्साहन गर्ने र संस्थागत परोपकारी कामलाई प्राथमिकतामा राख्ने उनले योजना बनाएका छन् ।

श्रेष्ठले एनआरएनए स्पोर्टर्स एकेडेमी स्थापना र सञ्चालनका लागि सम्पूर्ण समयसहित योगदान गर्ने प्रतिबद्धता पनि जनाएका छन् । पर्वतमा जन्मिएका ४६ वर्षीय श्रेष्ठ सन् २००५ देखि बेल्जियम बस्दै आएका छन् । दुई कार्यकाल एनआरएनए आईसीसी सदस्य, एक कार्यकाल यूरोप क्षेत्रीय संयोजक र एक कार्यकाल सचिव भएका छन् ।

पूर्व अध्यक्षहरुको सक्रियता बढ्यो

यसैबीच, गैरआवासीय नेपाली संघको विश्व सम्मेलन नजिकिए पछि पूर्व केन्द्रीय अध्यक्षहरुले पनि सक्रियता बढाएका छन् । पूर्व अध्यक्ष शेष घले लण्डन पुगेर गैरआवासीय नेपाली संघको आगामी नेतृत्वको विषयमा अध्यक्षका प्रत्यासी कुल आचार्यसँग गम्भीर छलफल गरी रणनीति बनाएको बेलायतस्थित एक उच्च स्रोतले बताएको छ ।

अब एनआरएनएको नेतृत्वमा दूरगामी सोच बोकेको व्यक्तिलाई नै पुर्याउनु आवश्यक भएको भन्दै लोकतन्त्रवादी उम्मेदवार आचार्यलाई सहयोग गर्न घलेले आफू निकटहरूलाई निर्देशन दिएको बताइएको छ ।

अध्यक्षका प्रत्यासी आचार्यले घलेका साथै पूर्वअध्यक्ष देवमान हिराचन र वतर्मान अध्यक्ष भवन भट्टसँग पनि आगामी विश्व सम्मेलनमा कसरी जाने भन्ने विषयमा निरन्तर छलफल गरिरहेको बताइएको छ ।

‘चुनावी रणनीति बनाउन हामी व्यस्त छौं, विश्वभरका गैरआवासीय नेपालीहरुलाई समेट्ने गरी प्रतिवद्धता आउँदैछ, हामी अहिले निर्णायक चरणमा छौं’ उपाध्यक्ष आचार्य निकट स्रोतले भन्यो ।

पूर्व अध्यक्ष घले, हिराचन तथा वर्तमान अध्यक्ष भट्टले यसपटक आचार्यलाई साथदिने संकेत गरिसकेको स्रोतको दावी छ । संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्व अध्यक्ष जीवा लामिछाने भने खुलिसकेका छैनन् । पूर्व अध्यक्ष लामिछाने अध्यक्षका अर्का प्रत्यासी कुमार पन्तको पक्षमा भएको भनिए पनि अहिले उनले ‘पर्ख र हेर’को रणनीति अख्तियार गरेको स्रोतको दावी छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक सचिव चिरञ्जीवी ढकालले संघलाई अझै प्रभावकारी ढंगले सञ्चालन गरिनु पर्ने अभिभारा रहेको बताउँदै आचार्य यसका लागि योग्य रहेको प्रतिक्रिया दिएका छन् ।

‘गैरआवासीय नेपाली संघलाई सुस्त गतिमा लगेर हुँदैन, तीब्र गतिमा लैजानका लागि डाइनामिक लिडर चाहिन्छ’ उनले भने, ‘त्यसका लागि वर्तमान उपाध्यक्ष आचार्य योग्य हुनुहुन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *