चिनियाँ राजनीतिकरण भित्र्याए आफैँलाई घातकः कांग्रेस नेता खाँण
Published:
by .चितवन । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँणले अहिलेको कम्युनिष्ट सरकारले चिनियाँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाएका छन् ।
आज नेपाल प्रेस युनियन चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । चिनियांँ राष्ट्रपतिलाई तालिमको लागि यहाँ बोलाएको भन्दै उनले चिनियाँ राजनीति भित्र्याए स्वयं कम्युनिष्टलाई नै घातक हुने बताएका हुन् ।
“संसारमा चीनको जस्तो शासन कहीँ पनि छैन । चिनियाँ कम्युनिष्ट पार्टी एकमात्र त्यहाँ छ, जसले लोकतन्त्रलाई कदापी स्वीकार्दैन,” उनले भने ।
हालसम्म कैयौंपटक चिनियाँ नेता नेपालमा भाइचारा र भ्रातृत्वको विकासका लागिमात्र आउने गरेको भन्दै यस्तो प्रकारको तालिमको आवश्यकता कहिल्यै नभएको उनको भनाइ थियो । अहिलेको सरकारले चिनियाँ मोडालिटीमा सत्ता चलाउन खोजेको आरोप लगाउँदै उनले यस्ता गतिविधिले संविधान र संसदीय प्रणालीलाई गम्भिर असर पुर्याउने बताए ।
विश्वमा संविधानसभाबाट निरंकुश सरकारले सरकार नचलाएको भन्दै उनले संविधानबाट नै लोकतान्त्रिक सरकार चलेको उल्लेख गरे । “गणतन्त्र दिवस पनि मनाउने, सविधान दिवस पनि मनाउने तर सरकार निरंकुश चलाउने ?” उनले प्रश्न गरे ।
सरकारले मिडियालाई अंकुशमा राख्न विधेयक पास गर्न खोजेको भन्दै कांग्रेसले जस्ताको तस्तै विधेयक पास गर्न नदिने बताए । कांग्रेसले देशव्यापी रुपमा दोस्रो राष्ट्रिय जागरण अभियान उत्साहजनक रुपमा सफल पारेको भन्दै अब स्थानीय तहसम्म पुग्ने गरी तेस्रो जागरण अभियान छिटै शुरु गरिने उनको भनाइ थियो ।
Comments