Sajhamanch Archive

काँकरभिट्टामा प्रहरीले खोल्यो नागरिक सहायता कक्ष

Published: in राष्ट्रिय समाचार, समाज by .

मेचीनगर । नेपालीका मुख्य चाडपर्व शुरु भएसँगै भारतका विभिन्न ठाउँमा कामका लागि गएका नेपालीहरु फर्किने क्रम शुरु भएको छ । नजिकिँदै गरेको दशैं तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गरेर नेपाल प्रवेशको पूर्वीद्वारमा नागरिक सहायता कक्ष पनि स्थापना गरिएको छ ।

अन्य समयको तुलनामा चाडपर्वका बखत मानिसहरुको आवत जावत बाक्लो हुने तथा घर छाडेर कमाउनका लागि विदेश गएकाहरु आआफ्नो घर फर्किने गरेका छन् । चाडपर्वमा घर फर्किनेक्रम शुरु भएपछि सिमामा ठगिने, लुटिने आपराधिक घटना हुने गरेकाले यसको समाधानको लागि मेचीनगर ६ काँकरभिट्टा नाकामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेडक्वाटर राजस्व तथा भन्सार सुरक्षा गुल्मले सहायता कक्ष स्थापना गरेको हो ।

दशै, तिहार तथा छठजस्ता चाडपर्वका बेला बढी भीडभाड हुने हुँदा सीमामै नागरिक सहायता कक्ष स्थापना गरिएको सुरक्षा अधिकारीहरुको भनाई छ । चाडपर्वका बखत भारतका विभिन्न ठाउँबाट नेपाल फर्किने नेपाली तथा नेपालका विभिन्न ठाउँबाट भारत फर्किने भारतीयहरुका लागि आवत जावतमा सहज होस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेडक्वाटर राजस्व तथा भन्सार सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेलले बताए ।

नागरिक सहायता कक्ष स्थापनापछि नेपाली तथा भारतीय नागरिकलाई सिमामा समस्या नहुने उनको भनाई छ । सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेलले चाडपर्वका बखत दुवै देशका नागरिकलाई सिमामा समस्या भोग्न नदिने प्रतिवद्घता व्यक्त गरे । रोजगारका लागि भारतका विभिन्न ठाउँमा पुगेका नेपालीहरु चाडपर्वका बेला भारतबाट फर्किने र सो क्रममा सीमा नाकामा लुटिने, दुव्र्यव्हार हुने गरेको छ । नागरिक सहायता कक्षमा भारतीय सिमा सुरक्षा बलको टोल फ्रि नम्बरसमेत राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *