बालबालिकालाई आक्रमण गर्ने चितुवा नियन्त्रणमा
Published:
by .दमौली । जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने नरभंक्षी चितुवा नियन्त्रणमा लिइएको छ ।
भानु नगरपालिका वडा नं.२, ३ र ४ मा बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको नरभंक्षी चितुवा आज बिहान नियन्त्रणमा लिइएको हो ।
चितुवा नियन्त्रणका लागि भानु नगरपालिका वडा नं.२ स्थित सामुदायिक वनमा खोर निर्माण गरिएपछि चितुवा उक्त खोरमा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।
बरालका अनुसार चितुवा नियन्त्रणका लागि बाख्रा राखेर खोर बनाइएको थियो । ‘लामो समयको प्रयासपछि चितुवा खोरमा पर्न सफल भएको छ,’ बरालले भने, ‘नियन्त्रणमा आएको चितुवालाई चिडियाखाना वा राष्ट्रिय निकुञ्ज पठाउने तयारी गरेका छौं ।’
बालबालिकालाई आक्रमण गरेर ज्यान नै लिने चितुवा नियन्त्रणमा आएपछि स्थानीय खुशी भएका छन् । स्थानीय अर्जुन रानाभाटले नरभंक्षी चितुवा नियन्त्रणमा आएसँगै सर्वसाधारणले राहत महसूस गरेको जानकारी दिए ।
चितुवाको आक्रमणबाट यसअघि भानु नगरपालिकामा २ बालक र २ बालिकाको मृत्यु भएको थियो । विक्रम संवत् २०७४ फागुन १ गते भानु नगरपालिका वडा नं.३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विक्रम संवत् २०७५ कात्तिक २९ गते भानु नगरपालिका वडा नं.४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल, मंसिर १५ गते भानु नगरपालिका वडा नं.२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका वडा नं.२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो ।
Comments